भारतमा नेपालको विजयी सुरुवात, गुजरातविरूद्ध नेपालको सहज जित

विश्वकप टी- २० क्रिकेटको तयारीका लागि भारतमा रहेको नेपालले मैत्रीपूर्ण खेलमा विजयी सुरुवात गरेको छ । फ्रेण्डसीप कप टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्यो। आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पार गर्यो। नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए।
अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे। नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतको रणजी टिम गुजरात १८.२ ओभरमा ९८ रनमा अलआउट भयो।
गुजरातका लागि ओपनर रुद्र मयुर पटेलले सबैभन्दा बढी २३ रन जोडे। नेपालका दीपेनद्रसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २२ बलमा ४ चौका प्रहार गरे। त्यसअघि आर्या देसाईलाई करण केसीले ४ रनमा बोल्ड गर्दा कप्तान उमंग रोहितकुमारलाई गुल्सन झाले सन्दीप जोराबाट ५ रनमा क्याच गराए।
गुजरातका स्मित पटेल १० रन, अभिषेक देसाई ११ रन र हेमंग पटेल २० रनमा आउट भए। सरल प्रजापति १७ रनमा रनआउट भए।बलिङमा नेपालका गुल्सन झाले ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। करण केसीले ३ विकेट लिए। उनले ३.२ ओभरमा २२ रन नै दिए। सोमपाल कामीले १ विकेट हात पारे।
गुजरातमा सुरु सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी९२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।