Trending

भारतीय पूर्व क्रिकेटर मनोज तिवारीको खुलासा, धोनी र गौतम गम्भिरले क्रिकेट करियर सकिदिएको आरोप

विश्वकै लोकप्रिय खेलमध्ये एक हो, क्रिकेट । कुनै पनि प्रतियोगिताका क्रममा दुई टोलीबिच मैदानमा हुने भिडन्त लाखौँ समर्थकको आँखामा परिरहेको हुन्छ । तर, ड्रेसिङ रुम र खेल मैदानमा हुने कतिपय घटना भने लामो समयसम्म पनि गोप्य रहेका हुन्छन् । खेलाडीहरुबिच हुने सामान्य घोचपेचदेखि लिएर गम्भीर बिवादका घटनाहरु पनि यसभित्र पर्छन् । सक्रिय खेल जीवनबाट विदा नलिएसम्म सम्बन्धित खेलाडीले पनि यस्ता घटनालाई हतपत सार्वजनिक गर्दैनन् ।
हालै यस्तै एउटा घटना सार्वजनिक गरेका छन्, भारतका पूर्वक्रिकेटर मनोज तिवारीले । ३८ वर्षीय तिवारीले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका क्रममा आफू र गौतम गम्भिरबिच भएको गम्भीर झगडाको विषयलाई सार्वजनिक गरेका हुन् ।

उक्त घटना सन् २०१३ को आईपीएलका क्रममा फिरोज शाह कोट्ला रंगशालामा कोलकाता नाइट राइडर्सको ड्रेसिङ रुममा भएको थियो । तिवारीले पहिलो श्रेणीको क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएको एक दिनपछि यो घटना सार्वजनिक गरेका हुन् । सन् २०१३ को आईपीएलमा गौतम गम्भिर र मनोज तिवारी दुबैजना कोलकाता नाइट राइडर्सबाट खेल्थे । फिरोज शाह कोट्ला रंगशालामा भएको खेलका क्रममा डे«ेसिङ रुपमा गम्भिर र तिवारीबिच बादबिवाद सुरु भएको थियो ।
आफूहरुबिचको बिवाद बढेर गम्भिर मोडमा पुगेको पनि तिवारीले बताएका छन् । त्यही घटनाका कारण सन् २०१४ मा आफूले कोलकाता नाइट राइडर्स छाडेको दाबी पनि उनले गरेका छन् । ‘ड्रेसिङ रुममा हामीबिच बिवाद बढ्दै गयो । खेल सकिएपछि गम्भिरले मलाई धम्की पनि दिए । उनले मलाई तँ ड्रेसिङ रुमबाट बाहिरि त निस्की, आजै म तँलाई सिध्याउँछु भनेर धम्की दिएका तिवारीले भनेका छन् ।

त्यो घटनापछि आफूलाई खराब चरित्रको खेलाडीका रुपमा चित्रण गर्ने प्रयास भएको दाबी पनि तिवारीले गरेका छन् । ‘उनी टोलीका सिनियर खेलाडी थिए । देशलाई विश्वकपको उपाधि पनि चुमाएका छन् । यस्तो सिनियर खेलाडीबाट त्यो स्तरको ब्यवहार निन्दनीय थियो,’ तिवारी भन्छन् ।
तिवारीले आफू कोलकातामा रहुञ्जेल गम्भिरसँग कहिले पनि सुमधुर सम्बन्ध नभएको बताएका छन् ।

यस्तै तिवारीले महेन्द्र सिंह धोनीका कारण आफ्नो क्रिकेट क्यारियर सोचे जस्तो नभएको विवादित बयान दिएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा तिवारीले आफुले शतक प्रहार गरेर पनि टिममा स्थान बनाउन नसकेको टिप्पणी गर्दै तत्कालिन कप्तान धोनीमाथि प्रश्न उठाएका हुन् । अन्तर्वार्ताका क्रममा तिवारीले आफुले मैत्रीपूर्ण खेलमा शतक प्रहार गरेपछि टेस्ट टिममा स्थान बनाउन नसकेको र आफ्नो सत्ता युवराज सिंहलाई अवसर दिइएको बताएका छन् ।
साथै मनोज तिवारीले एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्दा प्लेयर अफ द म्याचको अवार्ड पाएपछि पनि आफुलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।मनोजले अन्तर्वार्ताका क्रममा धोनीलाई सोध्ने अवसर पाएमा आफुलाई टिममा सामेल नगर्नुको कारण सोध्ने बताएका छन् । मनोज तिवारीले लगभग दुई दशकसम्म बंगालबाट क्रिकेट खेलेका थिए । फस्ट क्लास क्रिकेटमा तिवारीले १४८ खेल खेल्दै १० हजार रन बनाएका छन् । उनले ३० शतक र ४५ अर्धशतक बनाएका छन् ।

उनले भारतका लागि १२ एकदिवसीय र तीन टी९२० अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए । हालै बङ्गालका लागि रणजी ट्रफीमा अन्तिम खेल खेल्दै मनोजले सन्यास लिएपछि धोनीमाथि यस्तो आरोप लगाएका हुन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरे पनि टेस्ट क्याप पाउन नसकेकोमा आफूलाई पश्चाताप भएको अन्तर्वार्तामा बताएका छन् ।

TOP