रोमान्चक खेलमा नामिबियासँग नेपालको हार
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नामिबियासँग दोस्रो हार बेहोरेको छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले हार बेहोरेको हो। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पार गर्यो। नामिबियाका लागि गेर्हार्ड ह्रासमसले ५३ र जेजे स्मितले अविजित ३४ रन बनाए।
नेपालका लागि कुशल भूर्तेलले ३ तथा ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र रोहित कुमार पौडेलले १–१ विकेट लिए। ओपनर निकोलस डाभिनलाई रनआउट गर्दा नेपालले पहिलो विकेट पाएको थियो। तथापि जितको लागि पर्याप्त हुन सकेन । पहिले ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले।
आसिफले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए । नेपालका लागि आसिफको यो एकदिवसीयमा १२ औं अर्धशतक हो। ७ ओभरको अन्तिम बलसम्म ३ विकेट गुमाएर दबाबमा आएको नेपाली ब्याटिङलाई कुशल मल्लको आगमनपश्चात केहि सम्हालिएको थियो। चौथो विकटका लागि कुशल मल्ल र आसिफले ५७ रनको साझेदारी गरेका थिए । यस्तै मल्लले ३६, भीम सार्कीले २६, ओपनर कुशल भूर्तेलले १८ र करण केसीले १२ रन बनाए।
दीपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। नेपालका अनिल साह, देव खनाल र कप्तान रोहित कुमार पौडेल भने डक आउट भएका थिए ।नामिबियाका लागि बर्नाड स्कोल्ज र जान निकोल लफ्टी एटनले ४–४ विकेट लिएका थिए ।
यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।
दोस्रो जित हासिल गरेको नामिबिया ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदा नेपाल भने दोस्रो स्थानमा झरेको छ। अब शुक्रबार नामिबिया र नेदरल्यान्ड्स तथा आइतबार नेपाल र नेदरल्यान्ड्सबीचको खेलपछि यो सिरिज सकिनेछ।