पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माणका लागि ड्यालसमा नवाह महायज्ञ हुँदै
पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण पुरा गर्ने लक्ष्य लिएर अमेरिकाको ड्यालसमा नवाह महायज्ञ हुने भएको छ । अप्रिल ९ देखि १७ सम्म लाग्ने नवाह महायज्ञका हुन लागेको हो । आइतबारे पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रल नवाहको तयारीका क्रममा हालसम्म भएका प्रगतिका बारेमा समुदायलाई जानकारी गराएको छ ।
१० मिलियन (एक करोड) डलरको लागतमा बनाउन लागिएको नेपालकै जस्तो पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाका लागि नेपाली समुदायका हरेक परिवारको सहयोगको अपेक्षा गरिएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले बताएको छ । नवाहमा प्रख्यात वाचक दिनबन्धु पोखरेलबाट पुराण वाचन हुनेछ । मन्दिर निर्माणका लागि गर्न लागिएको नवाहका लागि आउँदो सातादेखि सबैका घर ठेगानामा निम्तापत्र, सुपारी र जनै सहितको बक्स पठाउन सुरु गरिने जानकारि दिइएको छ ।
पत्रकार सम्मेलनमा बाल्दै अध्यक्ष सीता सापकोटाल अमेरिकाका हरेक राज्यमा रहेका नेपाली समुदायले गर्व गर्ने भव्य पशुपतिनाथ मन्दिर र स्तुपा बन्ने बताएकी छन् । उनले पवित्र अभियानमा सबैले सहयोग गरिदिन र सबैबाट सहयोगको आशा गरिएको समेत बताइन् । मन्दिर र स्तुपाका लागि आर्थिक संकलन गर्न आयोजना गर्न लागिएको नवाहका निम्ति हालसम्म १७ वटा उपसमितिहरु गठन भैसकेको र एकहजार ८ कलशहरु आइपुगेर धमाधम बुकिङ्ग भइरहेको समेत उपाध्यक्ष छबीमणि चापागाइएले जानकारी दिएका छन् ।
नवाहको क्रममा कर्ता हुनका लागि एकहजार डलर, पितृको स्मृतिमा तस्बीर नवाह महायज्ञमा राख्न दुईसय डलर र नौ दिनसम्म राखिएको जल सहितको घडा लिनका लागि दुईसय डलर सहयोग रकम राखिएको छ । नवाहको अवधिमा फाउण्डिंग मेम्बर, ट्रष्टी, प्याट्रोन बन्न पनि खुल्ला रहेको जानकारी दिइएको छ ।
योजना डिजाइन तथा निर्माण समितिका अध्यक्ष निरज श्रेष्ठले मन्दिर र स्तुपा जतिसक्दो चाँडो बनाउन सकियो त्यतिनै कम लागतमा तयार हुने जानकारि दिएका छन् ।
संशोधित अनुमान अनुसार झण्डै एककरोड डलर खर्च लाग्ने मन्दिर तथा स्तुपा अमेरिकाभरिका नेपाली समुदायले गर्व गर्ने डिजाइन, पूर्वाधारयुक्त हुने बताईएको छ ।