नेपाल गएका ह्यारी भण्डारी जन्मघर थापाठाना जाँदै गर्दा स्मृतिमा झल्केको पोखरा……..
नेपाली मुलका अमेरिकी सांसद बनेर नेपालको गरिमा उचो बनाउन सफल नाम हो ह्यारी भण्डारी । जसले अमेरिकामा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि कायम गरेका छन् । यतिवेला भण्डारी नेपालमा छन् । नेपाल गएका उनि पशुपती नाथ मन्दिर पुगेर राखेको स्ट्याटस पछि पुन उनको अर्को भावुक स्ट्याटस सार्वजनिक भएको छ । जसमा उनले आफ्ना किशोरावस्थाका दिनहरुलाई स्मरण गरेका छन् ।
काठमाडौको दुई दिनको बसाईपछि उनि पोखरा हुँदै आफ्नो जन्मघर पर्वत जिल्लाको थापाठाना जाँदै गर्दा पोखरामा बिताएका आफ्ना किशोर वयको समयलाई गहिरो संग स्मरण गरेका छन् । पृथ्वीनारायण क्याम्पसबाट स्नातक गरेका उनले माध्यामिक सकेर उच्च शिक्षाका लागि पोखरा आएका दिनहरुलाई सम्झेका छन् । अप्रिल १२ मा नेपाल आएका भण्डारीको अमेरिका गएपछिको यो तेस्रो भ्रमण हो । सप्ताव्यापि यात्रामा निस्केका उनले आफ्ना गतिविधीबारे जानकारी दिईरहेका छन् । सन् २००५ मा अमेरिका आएका भण्डारी यस अघि सन् २००७ र २०१५ मा नेपाल आएका थिए । १६ बर्ष अमेरिका बिताएपनि नेपाली पनमा नै रमाईरहेका उनले यो खुसीको अनुभुति शब्द भन्दा बाहिर रहेका उल्लेख गर्दै यो यात्रा अझ बिषेश रहने बताएका छन् ।
ह्यारी भण्डारीको सम्झनामा पोखरा
काठमाडौको दुई दिनको अर्थपूर्ण बसाईपछि आज म मेरो जन्मघर पर्वत थापाठानातिर लाग्ने क्रममा पोखरा उड्दैछु। पोखरामा मैले जीवनको धेरै महत्वपूर्ण समय बिताएको छु। यस क्रममा पोखरासँग मेरो प्रेमील सम्बन्ध त छ नै, अगणित अविस्मरणीय संस्मरणहरू पनि संगालेको छु। माध्यामिक शिक्षा पूरा गरेर जुँङाको रेखीसँगै पोखरा झरेको मैले आफूलाई यही युवा बनाएँ। यहीको पृथ्वीनारायण क्याम्पसबाट स्नातक गरें। मेरो जीवनमा पोखरा आफैंमा एक विश्वविद्यालय हो।
आज म पोखरामा रहने छु। गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपालीज्यूसँग एक सद्भावपूर्ण भेट हुनेछ। मेरो सिंगो जीवनभन्दा लामो राजनीतिक जीवन बिताउनु भएका उहाँप्रति मेरो सदैव उच्च सम्मान छ र उहाँले मलाई भेटघाटका लागि जुन समय दिनुभएको छ, त्यसका लागि म सदैव कृतज्ञ रहनेछु।
पोखरामा मेरा आफन्तहरू छन्, मित्रहरू छन्। आज म जे भए पनि मेरा आफन्त र मित्रहरूका लागि म उही हुँ, मैले आफ्नो धरातल बिर्सेको छैन। म उहाँहरूको सद्भाव, प्रेरणा र मायाको सदैव चाहना राख्छु, म भाग्यमानी छु कि त्यो मलाई सदैव प्राप्त भैरहेको पनि छ।
म चाहन्छु, धेरैभन्दा धेरै मेरा आफन्त र प्रियजनहरूलाई भेटौं। त्यसका लागि आज साँझ ६ बजेदेखि ८ बजेसम्म Athiti Resort and Spa होटलमा भेटघाट कार्यक्रम राखेको छु। त्यसको संयोजन बल बहादुर थापाले गर्नुहुनेछ ।
तपाईं पनि आउन चाहनुहुन्छ भने उहाँसँग सम्पर्क गरेर आउनु होला। जति समय भेटेर कुरा गर्न सकिन्छ गरौं। फेरि भेट्ने मौका जुर्ला, नजुर्ला, के भन्न सकिन्छ र ?
हामी सबैको लागि आजको दिन शुभ होस् ।