रास्वपाले समर्थन फिर्ता लिए प्रचण्ड नेतृत्वको सरकार ढल्छ ?

परम्परागत ठूला दललाई धक्का दिदैं उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत मंसिरको चुनावमा भन्दा तेजिलो भएर उदाएको छ । उपचुनाव भएका तीन निर्वाचन क्षेत्रमध्ये दुईमा रास्वपाले जित निकालेको छ । संसदको अंकगणितमा थप एक संख्या रास्वपाले थपेको छ । निर्वाचित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् । ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’ सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए । तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।

उपचुनावले सरकारको अंकगणितमा भने खास फरक पर्दैन । रवि लामिछानेको दलले समर्थन फिर्ता लिएपनि अहिले प्रधानमन्त्री प्रचण्ड संसदको अंकगणितमा संकटमा पर्दैनन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १ सय ३८ ले साथ दिँदा प्रचण्डका लागि सरकार चलाउन बहुमत पुग्छ । उनी नेतृत्वको सरकारमै अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी र लोसपा छ । यी सरकारमा सहभागी दलहरुकै संसदको अंकगणित कुलमा १५० छ ।

कांग्रेसको ८८ (जसमध्ये टेकवहादुर गुरुङ निलम्बन), माओवादी केन्द्र ३२, जसपा १२ (उपेन्द्र यादव समेत बारा २ बाट जितेर आएमा, त्यहाँ अहिले मतगणना जारी छ । उपेन्द्र गणनामा यो समाचार तयार पार्दासम्म ४ हजार बढी मतले अगाडी छन्), नागरिक उन्मुक्ति ४ (बर्दियामा स्वतन्त्र जितेका रेशम चौधरीका बुवासहित) र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ४ गरी कुलमा १५० सांसद प्रचण्डको नेतृत्वको सरकारमा अहिले पनि रक्षाकवज छन् ।

यसमा कांग्रेसका निलम्बिन टेकवहादुर र उपेन्द्र यादवको चुनावी परिणाम मानौं विग्रेमा पनि १४८ सांसद प्रचण्डको साथमा हुन्छन् । रवि लामिछानेले सरकारलाई कायमै राखेको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री प्रचण्डलाई अहिले नै सत्ता सकंट पर्ने देखिन्न । तर, उपचुनावले राजनीतिक कोर्शलाई नबदल्ला भन्न पनि सकिन्न ।

झण्डै कांग्रेस सरहनै सांसदहरुको संख्या लिएर बसेको एमालेले सत्ता बाहिर बस्नुपर्दाको पीडामा मलम लगाउन पनि अनेक खाले राजनीतिक गेम नचाल्लान् भन्न सकिन्न । त्यसका लागि उपचुनावबाट जनमत लिएर आएको रास्वपाका लागि आफु कबज बनेर एमालेले टेको लगाउने कोसिस नहोला भन्न सकिन्न ।

त्यस्तो बेला एमालले आफुसहित राप्रपा, जनमत, उपेन्द्रकै जसपा, नागरिक उन्मुक्ति, लोसपा सम्मका दललाई मिलाउन अधिकतम प्रयास गर्ने र नयाँ समिकरण कोसिस नगर्लान् भन्न सकिन्न । यस्तो बेला कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेमकिपा, राष्टिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र २ लाई बाहिर राखेर मुश्किलले बहुमत जुटाएर नयाँ सरकारको चक्र बदल्ने कोसिस नहोला भन्न सकिन्न ।

अर्कोतिर कांग्रेसले नै पनि माओवादीलाई छोडेर नयाा समिकरण बनाउन पनि सक्छ । यस्तो बेलामा बाहेक अहिले नै प्रचण्ड नेतृृत्वको सरकार भने संकटमा छैन । जवसम्म कांग्रेस, एकीकृत समाजवादी र जसपाको मात्र साथ प्रचण्डले लिईरहन सक्छन्, त्यो बेलासम्म रवि लामिछानेको दलले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नै लिएपनि उनलाई सत्ता संकट आईलाग्ने छैन ।

TOP