विश्व च्याम्पियन नेपाली खेलाडी रुप कार्कीको अकल्पिनय निधनले अमेरिकासंगै विश्व नेपाली समुदाय स्तब्ध
भारोत्तोलनका अन्तराष्ट्रिय नेपाली खेलाडीको अकल्पनिय निधन भएको छ । भारत्तोलक विश्व च्याम्पियन कार्कीको ह्रदयघातका कारण ५२ बर्षको उमेरमा निधन भएको हो ।
एन आर एन ए, अमेरिकाको स्पोर्टस कमिटीका सह(संयोजक कार्की दुई दशक बढि अमेरिका बसेका सक्रिय अन्तराष्ट्रिय खेलाडी हुन् । आफु अमेरिकामा बस्दा नयाँ पुष्ताले भारोत्तोलनमा आफ्नो क्षमता प्रदर्शन गर्न नसक्ला र आफु नेपाली भएकाले आफ्नो ज्ञान र क्षमता नेपालकै खेल जगतका लागि खर्चने अठोट बोकेर ३ महिना पहिले मात्र नेपाल गएका कार्की बुटवलमा बस्दै आएका थिए । उनलाई ह्रदयघात भएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा मुग्लिन नजिकै बाटैमा उनको मृत्यु भएको थियो ।
उनको निधनको खबरले सबै भन्दा धेरै अमेरिकाबासी नेपाली समुदायलाई दुखी बनाएको छ । २ दशक लामो अमेरिका बसाईमा पनि रुप कार्की नेपाली खेल, कला, संगीत, सामाजिक लगायका क्षेत्रमा अत्यन्त लोकप्रिय नाम हो । विश्व च्यान्पियन जस्तो गौरवशाली पहिचान बोकेर पनि उनि सबैसंग सरल र आत्मिय थिए भन्ने कुरा उनको निधनपछि आज दिनभर सामाजिक संजालमा हजारौंको संख्यामा आएका स्ट्याटस र तस्विरहरुले देखाईरहेको छ ।
उनको निधनप्रति गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका कार्यसमिती पदाधिकारी देखी क्षेत्र च्याप्टर, बिभिन्न सामाजिक संघ संस्था, कलाकारिता, संगीत क्षेत्र संबद्ध ब्यक्तीहरुले गहिरो दुख ब्यक्त गरेका छन् । खेल जगतसंग जोडिएका उनका दशकौं पुराना र नयाँ पुस्ताका उनका नेपाली, अमेरिकी तथा विश्वभर रहेका प्रशंसकले उनको अप्रत्यासित निधनले सिंगो खेल जगतमा ठुलो क्षति पुगेको भन्दै उनिप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
उनिसंग नजिकबाट परिचित रहेका अमेरिकाबासी नेपालीहरुले कार्कीको निधनलाई अमेरिकाबासी सम्पूर्ण नेपालीको गौरविलो सान गुमाउनु परेको भन्दै उनको योगदानको कदर हुनुपर्ने बताएका छन् ।