प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै, यस्तो छ मतको अंकगणित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मतलिन लागेका हुन् । सत्ता साझेदार एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलबाट सर्मथन फिर्ता भएपछि ३० दिनभित्र विश्वासको मतलिने वैधानिक व्यवस्था छ । माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेसलाई सघाउने औपचारिक निर्णय लगतै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । अहिले सत्तारुढ गठबन्धनमा काँग्रेस सहित रास्वपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नाउपा, राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र सांसद सहभागि छन् । काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतदिने विषय हिजै टुंगाएको छ । एकीकृत समाजवादीले विश्वासको मतदिने निर्णय गरिसकेको छ । त्यस बाहेकदलले पनि विश्वासको मतदिने बिषय आजै टुंग्याउँदैछन् ।
विश्वासको मत पाउन प्रधानमन्त्री दाहालले कम्तीमा पनि १३८ मत पाउनुपर्छ । सत्तारुढ दलको मत एकै ठाउँ खस्न सके उनले १७३ मत पाउनेछन् । दुई स्वतन्त्र सांसद प्रभु साह र डा. अमरेसकुमार सिंहको पनि समर्थन भएको हुँदा उनको पक्षमा १७५ मतहुनेछ । यसअघि उनले २६८ मत पाएका थिए । त्यसबेला बैठकमा २६८ सांसद उपस्थित थिए । १० पुसमा एमालेको समर्थनपछि प्रधानमन्त्री बनेका उनले २६ पुसमा विश्वासको मत लिएका थिए । सत्ता समिकरण फेरिएपछि अहिले उनको विपक्षमा एमाले सहित राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् । यस्तो छ, विश्वासको मतको अंकगणित
पार्टी निर्वाचित सांसद र भएको मत
काँग्रेस ८९, ८६
माओवादी ३२, ३१
रास्वपा २०, १९
जसपा १२, १०
नेकपा एस १०, १०
जनमत ६, ६
लोसपा ४, ४
नाउपा ४, ४
राजमो १, १
स्वतन्त्र २, २
जम्मा १८०, १७३
खालीहुनुका कारण
काँग्रेस –रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, चन्द्र भण्डारी उपचारका क्रममा भारत र टेकबहादुर गुरुङ निलम्बित
माओवादी –वर्षमान पुन उपचारका लागि चीनमा
जसपा –रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित र शहनाज रहमानको निधन
रास्वपा –रवि लामिछानेको पद खारेज