पूर्व माओवादी एक हुन प्रचण्डको अपिल
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरू एक जुट हुन आह्वान गरेका छन् । आइतबार काठमाडौंमा आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा प्रचण्डले जनयुद्धताका संगै रहेका सहकर्मी नेताहरु सहभागि कार्यक्रममा पूर्व माओवादीहरु फेरि एकताबद्ध हुन अपिल गरेका हुन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत अरू नेताहरू सहभागि कार्यक्रममा उनले भने, ‘एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’
अहिले पनि पूर्व माओवादीहरु एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध भएको भन्दै उनले उनले भने ‘सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्न चाहन्छु ।’ उनले तैंले मैले नभनी सबैजना फेरि एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । ‘बाबुरामजी विप्लवजी, किरणजीले हासिल गरेका अनुभवहरु, धमेन्द्र जीले अहिले अनुभव हासिल गर्दै हुनुहुन्छ । यी सबै अनुभवलाई हाम्रा अनुभव भनौं ।’ राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको र अनुभवहरु एकत्रित गरेर एक ठाउँ हुँदा कुनै शक्तिले कमजोर बनाउन नसक्ने प्रचण्डले बताए । उनले भने ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’धेरैपछि पूर्व माओवादीका शीर्ष नेता एकै ठाउँमा उभिएर भएको कार्यक्रममा उनले यो कार्यक्रमले ठुलो र दुरगामी अर्थ राख्ने दाबी गरे । ‘हामी माओवादी आन्दोलनका सबै धारका प्रतिनिधि उपस्थित भएका छौं। यो सामान्य कुरा होइन। यसले शक्तिशाली सन्देश दिन्छ। अहिले एउटा सामान्य हालमा जुटेर केही कुरा गर्दैछौँ। त्यसको महत्व दुरगामी र अर्थपूर्ण छ।’उनको भनाई छ ।