विश्व क्रिकेट लिगमा ‘नेपालको पक्षमा हुटिङ्ग गर्ने’ अमेरिकी दुतावासको प्रतिवद्धता
नेपाल स्थित अमेरिकी राजदुतावासले अमेरिकामा खेल्न छनौट भएका नेपाली पुरुष क्रिकेट टिमलाई सहयोग र समर्थन गर्ने प्रतिवद्धता टिमलाई ७५ वर्ष अंकित ब्याट हस्तान्तरण गरेको छ । अमेरिकामा हुने विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत अमेरिकामा आयोजना हुने खेलका लागि दुतावासले सहयोग र समर्थन व्यक्त गरेको हो ।
आफ्नो आधिकारिक फेसबुक पेजबाट आईतबार भएको यस कार्यक्रमका बारे सोमबार तस्विर सहित जानकारी दिएको दुतावासले यस बिषयमा नेपाल क्रिकेट संघद्वारा आयोजित कार्यक्रममा दूतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट विल्करसनले विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत अमेरिकामा हुने खेलहरुको लागि नेपाली टिमलाई सघाउन पाएकोमा खुसी व्यक्त गरेको छ ।
दुतावासले नेपाल–अमेरिका सम्बन्धको ७५औं वर्षगाँठ मनाउने क्रम जारी रहेको उल्लेख गर्दै यो पटक नेपालमा बल र ब्याटका माध्यमबाट मनाउन अवसर जुटेको बताएको छ । नेपाली र अमेरिकी दुवै टिमको उत्कृष्ट प्रदर्शनको कामना गर्दै पब्लिक अफेयर्स अफिसर विल्करसनले ७५औं वर्षगाँठको अवसरमा ७५ वर्षको लोगो अंकित ब्याट हस्तान्तरण सहित सफलताको शुभकामना दिएका छन् । दुतावासले अन्त्यमा यो पनि भनेको छ,’ हामी काठमाडौंबाट तपाईंहरूको लागि हुटिङ्ग गर्नेछौं।’
तस्विर स्रोत: अमेरिकन दुतावासको फेसबुक