भारतमा गरिएको लकडाउनले भैरहवा भन्सारको राजश्व संकलन प्रभावित
सरकारले घोषणा गरेको लकडाउनको अवधीमा भैरहवा भन्सार कार्यालयले ३३ करोड बढी राजश्व मात्र संकलन गरेको छ । भारतमा गरिएको लकडाउनले आयातसँगै राजश्व संकलन समेत प्रभावित भएको छ । दैनिक करोडौँ राजश्व संकलन गर्ने यस कार्यालयले १४ दिनमा ३३ करोड बढी राजश्व मात्र संकलन गरेको छ ।
विगतमा दैनिक ५ सयको हाराहारीमा मालवाहक गाडी भित्रिने यस नाकाबाट अहिले दैनिक औसत एक सय ३० गाडी मात्र भित्रिरहेका छन् । यसमध्ये अधिकांश तरकारी, फलफूल, चामललगायत खाद्यान्नका हुन्छन् ।
भन्सार कार्यालयको चैत महिनाको प्रत्येक दिन २६ करोड ६७ लाख राजश्व संकलन लक्ष्य राखेपनि लकडाउनको अवधी (१४ दिन) मा ३३ करोड ६५ लाख ८६ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालय सूचना अधिकृत पूर्ण प्रसाद लम्सालले बताए ।
भन्सार कार्यालयबाट प्राप्त तथ्यांकअनुसार लकडाउन लागू भएको चैत ११ गते १ करोड ९३ लाख, १२ गते एक करोड ४९ लाख, १३ गते दुई करोड ६१ लाख, १४ गते दुई करोड ५७ लाख, १५ गते ९४ लाख, १६ गते ६ करोड ४८ लाख, १७ गते दुई करोड २८ लाख, १८ गते दुई करोड ९७ लाख मात्र राजश्व संकलन भएको छ ।
त्यस्तै भन्सारले १९ गते तीन करोड ८ लाख, २० गते ६९ लाख, २१ गते तीन करोड तीन लाख, २२ गते एक करोड ८ लाख, २३ गते तीन करोड १२ लाख र २४ गते एक करोड २८ राजश्व संकलन भएको जनाएको छ ।
चैत महिनाको २४ गते सम्म कुल दुई अर्ब ५६ करोड १५ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ । यो कुल लक्ष्यको ३२ दशमलव १ प्रतिशत मात्र हो । जबकी चैत महिनामा भन्सारले ८ अर्ब १८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लकडाउन अघि चैत महिनाको दश दिनमा दुई अर्ब २२ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकृत लम्सालले बताए ।
नेपाल भारत दुवै देशमा लकडाउन घोषणा गरिएपनि नाका सम्म पुगेका मालवाहक गाडी नेपाल भित्रिनमा कुनै समस्या छैन । लकडाउनको सुरुवाती चरणमा डिजेल, पेट्रोल आयात भएपनि चैत २० गते देखि यता आयात शून्य छ । खाना पकाउन एलपीजी ग्यास भने निर्वाध रुपमा आइरहेको छ । लकाडाउनको अवधीमा हालसम्म २ सय ५२ वटा ग्यास बुलेट भित्रिएका छन् ।
‘हाल तरकारी, फलफूल र खाद्यान्नका मालवाहक गाडी बढी भित्रिरहेका छन्,’ सूचना अधिकृत लम्सालले अन्नपूर्ण पोस्ट्सगँ भने, ‘तर, विगतको तुलनामा आयातमा कमी आएसँगै राजश्व संकलन समेत प्रभावित भएो छ ।’
आयातको कमी भएसँगै लकडाउन भएदेखि यस नाकबाट निर्यात पूरै ठप्प भएको छ । भैरहवा नाका हुँदै मुलुकबाट विभिन्न ३९ वस्तुको निकासी हुँदै आएका छन् ।
साभार: अन्नपूर्ण पोष्ट