Trending

आर्थिक सङ्कटमा श्रीलङ्का: चीनद्वारा दुई हजार टन चामल सहयोग

चीनले गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई आपत्कालीन सहयोग स्वरूप दुई हजार टन चामल उपलब्ध गराएको छ । कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रवार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेवारी स्वरूप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।

चीनले श्रीलङ्कालाई उपलब्ध गराएको चामलको मूल्य झन्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ । मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो

श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ । कोरोना भाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले दाबी गरेका छन् ।

चीन र श्रीलङ्का बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाई छ । चीनले श्रीलङ्कालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ । रासस/सिन्ह्वा

TOP