डा.गोविन्द आचार्यको दशकौं पुरानो मार्मिक गीत ‘मरेको लास’ रचना रिमालको आवाजमा सार्वजनिक
एक समय थियो नेपालका ग्रामिण भेगमा रेडियो नेपाल र त्यसका क्षेत्रिय प्रसारण सेवामात्र गुञ्जन्थो । सो समय अत्याधिक लोकप्रिय रहेको गीत मरेको लास केही दिन अघि गायिका रचना रिमालको आवाजमा सार्वजनिक भयो ।
मरेको लास नराख घर, चितामा जलाई देउ
अध्यारो छायो दागवत्ती दिन, प्रियलाई बोलाई देउ
विदेशीका युवाहरुको मृत्युको कारुणिकता बोकेको यो गीत सुनेर छोरा र पति मुग्लान गएकाहरुको आँखा भरिन्थ्यो । सो समय सर्वाधिक सफल मानिएको यस गीतका संगीतकर हुन् डा. गोविन्द आचार्य । यम बराललको आवाजमा रहेको यस गीतलाई राजेन्द्र रजौरे र यसोधा न्यौपानेले लेखेका हुन् । शब्दको मर्मलाई अत्यन्त कुशलताका साथ संगीतकार आचार्यले उतार्दा यो गीत सुन्नेहरुका लागि संगीतको भावुकताले तानेको देखिन्छ ।
नेपाली लोक साहित्यमा पहिलो विद्याबारिधी गरेका व्यक्ती हुन् डा. गोविन्द आचार्य । दाङमा जन्मिएका आचार्यका सो समय नै ३० भन्दा बढि एल्वम र १० वटा भन्दा बढी पुस्तक प्रकाशित छन् ।
आफैंमा सर्वाधिक लोकप्रिय गीत मरेको लास पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको स्वरमा उनकै छोरा समिर आचार्यको पहलमा रेकर्ड गराएका हुन् । यतिबेला बुवाका पुराना गीतलाई पुर्नजीवन प्रदान गर्दै आएका गायक समिर यस समयका सर्वाधिक सफल गायक हुन् ।
जसका मेरो दुनियाँ बेग्लै छ, पिचरोड, घाममा सुकाईदेउ, झम्केमाया लगायतका दर्जनौं गीत चर्चामा छन् । करोड क्लब गायकका रुपमा समेत चिनिने गायक समिरले नयाँ र पुराना पुस्तालाई सांगीतिक रुपमा जोड्ने प्रयास स्वरुप बुवा गोविन्दका सृजनालाई संकलन गरिरहेका छन् ।
सरल शैलीमा भिडियो समेत निर्माण गरेर बजारमा ल्याईएको मरेको लास गीतमा गायिका रचनाले नै अभिनय गरेकी छन् । शान थापाको निर्देशनमा निर्माण भएको भिडियोलाई बुद्ध लामाले छायांकन गरेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।