कहाँ छन् टोपबहादुर रायमाझी ?
शुक्रवार काठमाडौँ छिर्ने नाका‘नागढुङ्गा’मा प्रहरीको चेकिङ अन्य दिन भन्दा निकै कडा थियो । काठमाडौँ प्रवेश गर्ने सबै सवारीसाधनमा प्रहरीले खानतलासी गर्न थाल्यो । कारण हो पुर्वउपप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी । फरार सूचिमा रहेका रायमाझीलाई पक्राउ गर्नको लागि प्रहरीले देशभर कडाइका साथ खोज तलासी जारी राखेको छ ।
नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएका रायमाझी प्रहरीलाई चक्मा दिँदै फरार भएका थिए । बुधवार उनिविरुद्ध पक्राउ पर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको समयमा गृह जिल्ला अर्घाखाँचीबाट काठमाडौँ जान्छु भनेर हिँडेका उनलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन ।
सभामुख देवराज घिमिरेसँगै काठमाडौँ आउन बुधवार साँझको प्लेन टिकट काटेका रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि टिकट रद्द गरेका थिए । जहाजको टिकट रद्द गरेर सडकमार्ग भएर काठमाडौँ आउँदै गरेका उनी बाटोबाटै फरार भएपछि प्रहरी रणभुल्ल परेको छ । रायमाझीले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बर गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको छ । तर उनलाई पक्राउ गर्न पिछा गरिरहेको प्रहरीले गाडीमा चालक र पिएसओलाई मात्रै फेला पारेको थियो । रायमाझीले बिहीबार बिहान काठमाडौँ प्रहरीलाई सम्पर्क गरी आफू गिरफ्तारी दिन काठमाडौँ आइरहेको सन्देश फोनमा सुनाएका थिए । दिउँसो २ बजेतिर काठमाडौँ पुग्ने जानकारी दिएका उनी शुक्रबारसम्म पनि सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनका छोरा सन्दीपलाई भने प्रहरीले बुधवार नै बुटवलबाट पक्राउ गरेको थियो । बुधवार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित आठ जना पक्राउ परिसकेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न रहेको आरोप लागेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी अहिले कहाँ छन् भन्ने कुरामा सर्वत्र चासो छ । अहिलेसम्म रायमाझी आफूहरूको सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार रायमाझी बिहीवार भैरहवाबाट काठमाडौँ आएको भनेर सूचना आए पनि उनको गाडी मात्र आएको थियो । रायमाझी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सभामुख देवराज घिमिरेसँगै सहभागी भएका थिए । त्यहाँबाट बुटवल झरेका रायमाझीले भैरहवा विमानस्थलबाट काठमाडौँ आउन टिकट समेत काटेका थिए । तर, त्यो टिकट रद्द गरेर रायमाझी उतै बसेकोसम्म सूचना आफूहरूलाई रहेको प्रहरी स्रोत बताउँछ ।
ओलिको निर्देशनमा भुमिगत !
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा रायमाझी भुमिगत भएको हुन सक्ने आशंका गरिएको छ । ओलीले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर रायमाझीबारे चासो व्यक्त गरेसँगै ओलिकै निर्देशनमा रायमाझी भुमिगत रहेको हुनसक्ने स्रोतको दाबी छ । प्रचण्डसँगको भेटमा एमालेलाई मात्र जोडेर फसाउन खोजिएको हो कि भन्ने उनको आशंका छ ।
‘तानिएको हो कि तनाइएको हो भन्ने विषयमा अध्ययन गर्दैछौं । त्यसपछि मात्रै हामी निष्कर्षमा पुग्छौं,’ ओलीले भेटपछि सञ्चारकर्मीसँग बोलदै भनेका थिए । ओलीले अगाडि भने, ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्कनु पनि हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोषलाई फसाउन खोजियो भने छाड्दैनौं ।’
उनलाई मुद्दा नै नचलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका छन् । जसकारण अहिले अनुसन्धान प्रभावित भएको छ । एमाले उपाध्यक्ष बादल समेत तानिन सक्ने भएपछि यसरी सोही विषयमा कुरा गर्न बिहीबार ओली आफैं प्रचण्डलाई भेट्न गएका थिए ।
ओलीको आश्वासनपछि रायमाझी प्रहरीमा उपस्थित नभई फरार भएका छन् । बुधवार उनले आफुले प्रहरीलाई सघाउने बताएका थिए । स्रोतका अनुसार ओलीले केही दिन भूमिगत हुन सुझाव दिएका थिए । सोही आधारमा रायमाझी भागेका हुन् । उनी बिहीबार प्रहरीमा आफैं उपस्थित हुने बताएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका अलावा प्रहरीले अहिलेसम्म गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे, इन्द्रजित राई र सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार अहिलेसम्म १५४ जनाबाट २० वटा जाहेरी परेको छ । थप केही सम्पर्कमा आउने क्रममा रहेकाले यो संख्या बढ्ने छ ।