कर्णालीका २ जना विनाविभागिय मन्त्री सहित मुख्यमन्त्री शर्माको पद तथा गोपनियताको सपथ
रमेशकुमार पाण्डे
सुर्खेत २८, पुस ।
कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा सहित २ जना विनाविभागिय मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्मासहित थप दुई मन्त्रीलाई शपथ ग्रहण गराउनु भएको हो ।
बुधबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका शर्मालाई संविधानको धारा १६८ को उपधारा २० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १÷१ गरि जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।
आजै नेकपा एमाले र माओवादी केन्द्रले एक÷एक जना सांसदलाई सरकारमा सहभागि गराएका छन् । नेकपा एमालेका विनोद कुमार शाह र नेकपा माओवादीका मंगल शाहीलाइ विनाविभागिय मन्त्रीमा मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ ।
मुख्यमन्त्री शर्माले आजै पदभार ग्रहण गर्दैै कर्णालीका बेरोजगार युवाको समस्या समाधान गर्न कम्तिमा एक वर्षमा दश हजार युवालाई रोजगार सिर्जना गर्ने बताउनु भएको छ ।