सिके राउत नेतृत्वको जनमत पार्टीबाट ४ महिला सहित ५ समानुपातिक सांसद चयन
सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सांसद पाएको छ । प्रतिनिधि सभामा समानुपातिकतर्फ ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको जनमत पार्टीका तर्फबाट सोनु मुर्मुर, अब्दुल खान, अनिता साह, विनिता कुमारी सिंह र गोमा सापकोटालाई सांसदमा पठाईने भएको हो ।
जनमत अध्यक्ष राउतका अनुसार आयोगले तीन दिनभित्र समानुपातिक सांसदका नाम दिन दलहरूलाई गरेको आग्रह अनुसार पार्टीले उल्लेखित नामहरु निर्वाचन आयोगमा पठाउन लागेको हो ।
समानुपातिक सांसद चयन गर्न बिहीबार काठमाडौंमा केन्द्रीय समिति बैठक राखेको जनमत पार्टीले समानुपातिक बन्द सूचीमा रहेका नाम अनुसार नै सांसद चयन गरेको हो ।
प्रत्यक्षतर्फ भने अध्यक्ष चन्द्रकान्त (सिके) राउतले मात्रै निर्वाचन जितेका थिए । राउत सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै ३५ हजार ४२ मत सहित विजयी भएका हुन् ।