हरेक क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको छः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको हरेक क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको टिप्पणी गरेका छन् ।
कम्युनिष्ट नेता निर्मल लामाको २३ औं स्मृति कार्यक्रममा उनले भ्रष्टाचारबाट जनता दिक्क भइसकेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणलगायत अन्य भ्रष्टाचारको जालो हटाउन आवश्यक भएको बताए ।
घुस नदिई कामै नबन्ने अवस्था आएको भन्दै, यो प्रवृतिबाट देशलाई बाहिर कसरी निकाल्ने हो भन्नेबारे गम्भिर भएर सोच्न आवश्यक भएको उनको भनाई छ ।
उनले भने, ‘अहिले भ्रष्टाचार हरेक कदममा छ, आजको अवस्थामा हरेक टेबलमा पैसा नदिईकन काम गर्ने वातावरण छैन् । नक्कली भुटानी शरणार्थी प्रकरणले पनि यो कम भएको छैन् । भनेपछि राज्यको संयन्त्रलाई कसरी जागरुक बनाउने, छानबिनको प्रक्रियालाई कसरी अगाडि बढाउने, भ्रष्टहरुलाई दण्डित गर्ने कुराहरु कसरी नियन्त्रण गर्ने हो । सबै कुरामा ध्यान जानु जरुरी छ । जनताहरु यसबाट दिक्क भइसकेका छन् । त्यसकारण हाम्रो नेतादेखि कर्मचारी सम्मको सबै जाललाई तोड्ने जरुरी छ ।’
अध्यक्ष नेपालले निर्मल लामाप्रति सच्चा श्रद्धाञ्जली दिन, कम्युनिष्ट आन्दोलनको शीर उठाउन, समानता, सामाजिक न्याय, विकासको यात्रामा अघि बढ्न, जनताको विश्यवास जित्न, राजनीतिलाई स्वच्छ बनाउन हरेक राजनीतिक दलभित्र रहेको व्यक्तिवाद, पदीय लोभ र पैसाको लोभलाई समाप्त गरेर काम गर्ने भावना जागउनुपर्ने बताए ।