माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड अनिवार्य
नेपालमा पुन कोभिड पेण्डामिकको उच्च जोखिम देखिएपछि सरकारले नयाँ नियम लागु गरेको छ । कोरोना संक्रमितको बृद्धी भएपछि आगामी माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु अनिवार्यता कायम गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालका अनुसार आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
आजको बैठकबाट मानविय चाप रहने सार्वजनिक स्थलमा प्रवेश गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको छ ।
जसअनुसार कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा लगायतका क्षेत्रमा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको छ । जो माघ ७ गतेदेखि लागू हुनेछु ।
जनताको सहजताका लागि भ्याक्सिन लगाएको कार्डको फोटो मोबाइलमा खिचेर मोबाइलबाटै देखाएपनि हुने व्यवस्था गरिएको यस निर्णय गृहमन्त्रालयमार्फत कार्यान्वयनका लागि सिफारिस भएको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर बृद्धी भएपछि बिद्यालयका बालबालिका, शिक्षक तथा अविभावको स्वास्थ्य जोखिमलाई ध्यानमा राखी तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ र सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितीमा बसेको आजको बैठकले बढी भिडभाड हुने क्षेत्र सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ भने राजनीतिक दललाई भिडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न आह्वान गरेको छ ।
कोरोनाका नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक सङ्क्रमण पहिचान भएका दक्षिण अफ्रिाकालगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकहरूमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिज्ञ तथा आधिकारिक राहदानीवाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुलाई मात्रै क्वारेन्टिन तथा आइसोलेशनको व्यवस्था लागू हुनेछ ।