नेपालीका लागि अर्को खुसी: ह्यारी भण्डारीको दोस्रो कार्यकालको दावेदारी पनि अनुमोदन
नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीको दोस्रो कार्यकालको उमेद्वारी पनि अनुमोदन भएको छ । मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ को विधायकमा दोस्रो कार्यकालका लागि उमेद्वारीको आंकाक्षी रहेका भण्डारीको उमेद्वारी डेमोक्रेटिक पार्टीले अनअपोज्ड स्थितिमा अनुमोदन गरेसंगै उनि पुन सांसद पदमा देखिने सम्भावना बढेको हो ।
यस बिषयमा भण्डारीले जारी गरेको वक्तव्यमा उल्लेख भए अनुसार चुनौतीका रुपमा रहेकी एनेल म्याक्कोलिमले उम्मेद्वारी फिर्ता लिएसंगै भण्डारीको नाम अनअपोज्ड स्थितीमा अनुमोदन भएको हो । यो सफलताले नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि यात्रा तय गरेका उनले जनरल इलेक्सन अघिको प्राइमरी ईलेक्सन औपचारिकता मात्र भएको बताउँदै अवको उनको चुनावी यात्रा जनरल ईलेक्सन केन्द्रित हुने पनि उल्लेख गरेका छन् ।
पहिलो कार्यकालमा गरिएको जन विश्वासले यो अवसर प्राप्त भएको भन्दै उनले सबैलाई धन्यवाद ज्ञापन गर्दै नविन यात्राका लागि साथ र सहयोगको अपेक्षा पनि व्यक्त गरेका छन् ।
भण्डारीले भनेका छन् ‘यो यात्राका लागि म म्याक्कोलिन र यसक्षेत्रबाट उम्मेद्वार हुने अधिकार भएर पनि मलाई अनअपोज्ड छोडिदिने हजारौ रजिस्टर्ड डेमोक्रेट मित्रहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मैले यसलाई लामो समयदेखि यस क्षेत्रका आदरणीय मतदाताका लागि गरेको काम र पार्टीलाई अगाडि बढाउन निष्ठापूर्वक गरेको प्रयत्न तथा पार्टी नेतृत्वले यसपटकको चुनावमा प्राइमरीमा मलाई राहत मिले पनि जनरल इलेक्सन मूलतः दुई कारणले अत्यन्तै प्रतिस्पर्धी बन्न पुगेको छ। पहिलो, मेरो निर्वाचन क्षेत्र रिम्यापिङ भएर ५ प्रिसिङ्ट डिस्ट्रिक्ट ७ मा परेका छन् भने डिस्ट्रिक्ट ६ का ५ प्रिसिङ्ट मेरो क्षेत्रमा आएका छन्। यसरी आएका प्रिसिङ्टहरू मेरा लागि नयाँ छन् र अझै पनि यिनीहरुको डेमोग्राफिक चित्र प्रष्ट भैसकेको छैन। दोस्रो, मेरो प्रतिस्पर्धीका रूपमा रिपब्लिकन पार्टीले बाल्टीमोर काउन्टी रिपब्लिकन पार्टीकी अध्यक्ष क्याथिलन स्मेरोलाई मैदानमा उतारेको छ।’
मथिका दुबै कुरालाई ध्यानमा राख्दै आफ्नो निर्वाचन क्षेत्रको वस्तुगत स्थितिलाई समेत केन्द्रमा राखेर आफ्नो चुनावी अभियानलाई अगाडि बढाउने प्रतिज्ञा गरेका उनले आफूले विगत चार वर्षमा गरेका काम र यस्तै काम गर्ने प्रतिवद्धता लिएर मतदातामाझ जाने बताएका छन् ।
मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा हुने भए पनि यो निर्वाचन अमेरिका भरिकै नेपाली सुमदायको प्रतिष्ठाको चुनाव भएको बताउँदै भण्डारीले अहिलेका लागि आफ्नोे जीत अमेरिकामा नेपालीकै जीत भएको र यो जीत जोगाउन सकियो भने अन्य ठाउँमा पनि यो दोहोर्याउन सकिन्छ भन्ने विश्वास जगाउने अवसर भएको पनि स्पष्ट पारेका छन् ।
आफ्नो उम्मेद्वारीलाई अमेरिका भरिकै नेपाली समुदायको प्रतिनिधिमुलक उम्मेद्वारीको रूपमा लिएर नैतिक, भौतिक, भावनात्मक सबै खालको सद्भावपूर्ण साथ र सहयोगका लागि सादर अनुरोध गरेका उनले सधैंझै यसपटक पनि सबैको साथ, सहयोग र सद्भावको हार्दिक अपेक्षा राखेको उल्लेख गरेका छन् ।
नेपालको सप्ताहव्यापी यात्रा सकेर केही दिन अघि मात्र अमेरिका फर्किएका भण्डारी अमेरिकी मुलधारको राजनितिमा रहेर प्रवासी र मातृभूमि नेपालमा रहेका नेपालीहरुको पक्षमा संधै उभिंदै आएका व्यक्ती हुन् ।