सुदुर र मध्य पश्चिमको यथार्थ कथामा कलाकार लक्ष्मी र जीवनको जिवन्त अभिनय : शिरफूल चर्चाको शिखरमा
गायिका रेखा जोशीको नयाँ गीत शिरफूल यतिवेला यूटुव र सामाजिक संजालमा अत्याधिक रुचाईएको गीत हो । सुदुर र मध्यपश्चिमका ग्रामिण युवाहरुको गरिबिको कथा बोकेको यस गीतले रोजगारिका लागि शहर पसेको युवा र गाउँमा उसको प्रतिक्षामा बसेकी जीवन संगीनी र दुधे बालकको भावलाई सजिव रुपमा चित्रण गरेको छ ।
पछिल्लो समयमा चर्चित र्यापर तथा गीतकार मिस्टर आर जे राजेन्द्र भट्टको शब्द तथा संगीतमा रहेको यस गीतमा नेपाली ग्रामिण परिवेशमा आज पनि विद्यमान चरम गरिबी र त्यहि गरिबिले बिछोडको सामाना गर्दै आएका कयौं युगल जोडीको कथालाई मार्मिक रुपमा भिडियो सहित उतारेको छ ।
लोकप्रिय कलाकार तथा रियल जोडी लक्ष्मी वर्देवा र जीवन भट्टराईलाई केन्द्रिय भूमिकामा उभ्याईएको गीतमा धन कमाउन घरबुना राडीपाखी बोकेर राजधानी काठमाडौं भित्रने सुदुर र मध्य पश्चिमका युवाको यथार्थतालाई प्रस्तुत गरेको छ । आफुसंग भएका सामान बेचेर श्रीमती, बालबच्चा र घरका लागि आवश्यक सामानको जोहो गर्न शहर पसेको युवाले पाएको हण्डर र दुखलाई अति संवेदनशिल रुपमा चित्रण गरिएको कथामा गाउँमा रहेकी श्रीमतीको किसानी रंग र दुखले सृजना गरेका भावलाई कारुणिक रुपमा समेटिएको यस भिडियोको निर्देशन कलाकार बर्देवा र भट्टराई आफैंले गरेका हुन् । भेषभूषा, भाव र जीवनशैलीलाई सजिवता प्रदान गरेका उनिहरुले आफ्नो भूमिकालाई पनि न्याय प्रदान गरेका छन् ।
बुद्ध थापाको छायांकनमा निर्माण भएको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । सागर दाहालको सह निर्देशन रहेको भिडियोलाई अहिले सम्म ११ लाखको हाराहारीमा दर्शकले यूटुवमा हेरेका छन् । नेपमेलो म्यूजिकको यूटुव च्यानल मार्फत सार्वजनिक गीतमाथी सयौंको संख्यामा सकारात्मक प्रतिकृयाहरु आईरहेका छन् ।