गिभिना र नर्सहरुबीच किन चर्कियो विवाद ?
सामाजिक अभियन्ता गिभिना मगरको विषयले यति बेला सामाजिक संजाल तताएको छ । केहिदिन अगाडि काठमाण्डौंको माइतीघर मण्डलामा नर्सहरु शान्तिपुर्ण धर्नामा थिए । पछिल्लो घटनाले समग्र नर्सिङ पेशामाथि नै प्रश्न उब्जिाएकोमा उनीहरुको आपत्ति थियो । नर्सहरुको चरित्रहत्या भएको भन्दै उनीहरु धर्नामा बसेका थिए ।
घटनाको चुरो
कास्कीकी १६ वर्षिया बालिका अर्चना मगरको रक्त क्यान्सरको उपचारमा गिभिनाले आर्थिक सहयोग गरिरहेकी छिन्। उक्त बालिकाको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल) मा उपचार भैरहेको छ । जेठ ३ गते बेलुका गिभिनाको टिकटक आइडी गिभिना १८ बाट एउटा भिडियो पोष्ट भयो, जसमा तिनै बालिकाबारे गिभिना र भरतपुर अस्पतालका नर्सहरुबीच भएको सामान्य विवाद देखाइएको छ । गिभिनाले यो भिडियोमा विरामीलाई २ बजे दिनुपर्ने औषधी ४ः३० मा दिएको भन्दै अस्पतालका नर्सहरुले लापरवाही गरेको बताएकी छिन् । तर नर्सहरुले औषधी २ बजे नै दिएको उल्लेख गरिएको उनले भनेकी छिन् ।
तर इमर्जेन्सी केयर युनिटका नर्सहरुले केहि समय ढिला गरी औषधी दिँदा फरक नपर्ने भन्दै बुझाउन खोजिएको कुरा भिडियोमा देखिन्छ । संवादको क्रममा सामान्य विवाद भएको देखिन्छ । उक्त भिडियो सामाजिक संजाल टिकटकमा सार्वजनिक भएसँगै प्रतिक्रियाको ओइरो नै लाग्यो । यसविषयमा अस्पताल प्रसाशनले गिभिनालाई छलफलका लागि बोलायो । गिभिनासाँग अस्पताल प्रसाशन र नर्सहरुको वार्ता भयो । वार्तापछि दुवैपक्षले आफ्नो गल्ती स्वीकार गरी उक्त भिडियो टिकटक मार्फत हटाउने कुरा भयो । यसविषयलाई बढी नलम्बाउने सहमति वार्तामा भएको थियो ।
गिभिनाको टिकटकबाट उक्त भिडियो हटे पनि अन्य प्रयोगकर्ताले भने भिडियो सेभ गर्दै टिकटकमा पोष्ट गर्न थाले ।त्यति मात्रै नभई गिभिनाले अस्पताल बाहिरा टिकटक लाइभमा अस्पतालका नर्सहरुलाई जथाभावि गाली गरेको र चरित्रहत्या हुने गरी शब्दहरु बोलेर टिकटकमा भिडियो पोष्ट गरेको अस्पताल प्रसाशनको आरोप रहेको छ ।
आफुहरुप्रति चरित्रहत्या भएको भन्दै नर्सहरु जिल्ला प्रशासन कार्यलय पुगे अनि यसविषयको कारबाही प्रक्रियाको विषयमा छलफल भयो । नर्सको टोली अस्पताल फर्कन नपाउँदै गिभिना र उनका समर्थकहरुको टोलीसँग जम्काभेट भयो, दुवैतर्फीले आ-आफ्ना तर्क राख्दै विवाद गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। गिभिनाका समर्थकहरुले भने एउटा सामाजिक अभियन्ता माथि यस्तो व्यवहार गरेको मगन्तेको आरोप लगाएको भन्दै विरोध गरेका छन् । उक्त घटनामा गिभिनाले बुधबार साझँ दुवै पक्षलाई राखेर भिडियो सन्देश मार्फत माफि मागेकि छिन् । मान्छेबाट नै भुल हुने भन्दै नर्सहरुप्रति यस्तो चोट पुर्याउने आफ्नो कुनै चाहना नभएको बताएकी हुन् ।
यस्तो छ गिभिनाको भिडियो सन्देश–
जुन घटना नघट्नु थियो, त्यो घटनाले हामी सबैलाई दुःखी बनाएको छ । सबैलाई दुःखी बनाउने मेरो उद्देश्य पनि थिएन । म एउटा सामान्य घरपरिवारको छोरी हो । यहाँ अर्चना बुनुलाई नयाँ जीवन दिन्छु भन्ने सोच लिएर आएको थिएँ । तर, त्यहाँ मैले नसोचेको घटना घट्यो, जुन घट्नु हुँदैन थियो । भरतपुर क्यान्सर अस्पतालमा उपचार हुँदै गर्दा यो घटना घटेको थियो ।
त्यहाँ म्याम र मेरो समस्या उब्जेको थियो । त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको थियो । म पनि भावनामा डुबेँ । यो औषधि दिने क्रममा टाइमको फरक पर्यो भन्ने कुरालाई लिएर हाम्रो समस्या उत्पन्न भएको थियो । सबै कुरा मलाई जानकारी नभएको कारणले गर्दा मैले एउटा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक भयो भनेर प्रश्न गरेको थिएँ । त्यही कारणले गर्दा यो समस्या निम्तिएको थियो ।
यसको लागि सायद मान्छेबाटै भुल हुन्छ, त्यसै कारणले गर्दा मेरो पनि भुल भएको छ । त्यही भुलले गर्दा धेरैजना जो नर्सिङ पेसामा आबद्ध हुनुभएका नर्सहरूलाई धेरै समस्या आएको छ । त्यो मेरो उद्देश्य र चाहना थिएन । मैले नानुलाई बचाउँछु भनेर मात्र आएको थिएँ । तर, एक्कासि थाहै नपाई यो घटना घट्न पुग्यो ।
यसबाट सम्पूर्ण जति पनि नर्सिङ पेसामा आबद्ध हुनुहुन्छ, उहाँहरूको चरित्र हत्या भएको छ । तथानाम गाली पनि गरिएको छ, जुन कुराले नर्सिङ पेसामा आबद्ध हुनुभएको धेरैजनालाई चोट पुगेको छ । यो मैले चाहेको थिइनँ । म आफैँ पनि फ्लोरेन्स नाइटिङगेलबाट प्रभावित भएर समाजसेवामा रहेको थिएँ । म आफैँलाई पनि नर्सिङ पेसामा आबद्ध हुन मन थियो । तर, मेरो आर्थिक अभावले गर्दा त्यो समय मैले पढ्न नपाएको पेसा हो । मलाई नर्सिङ पेसा असाध्यै मन पर्छ ।
तर, अहिले मेरो अन्जानमा भएको भुलले गर्दा सम्पूर्ण नर्सिङ पेसामा आबद्ध भएका नर्सहरूलाई समस्या आएको कारणले गर्दा उहाँहरूको काम छ, पेसा छ, त्यसमा प्रश्न आएको कारणले गर्दा सबैलाई दुःखी बनाएको छ ।
आगामी दिनमा यो दुःख भोग्न नपरोस् । उहाँहरूले गरिरहेको पेसामा प्रश्न नउठोस् । कहिले पनि यो समस्या सिर्जना नहोस् ।
मान्छेलाई जन्म दिने, बचाउने, भगवान्पछिको डाक्टर, नर्स हुनुहुन्छ । त्यसैले कसैले पनि डाक्टर, नर्सलाई नकारात्मक रूपमा नलिइदिनु होला । हामीलाई गाह्रो भयो भने, बिरामी पर्यो भने हामी जाने भनेको हस्पिटल नै हो । त्यसैले मेरो उद्देश्य भनेको उहाँहरूलाई नराम्रो भन्ने, नराम्रो बनाउने थिएन । तर, परिस्थितिले यो मोड लियो । जुन गल्ती म बाट भयो, आगमी दिनमा मबाट यस्तो गल्ती हुने छैन ।
फेरि पनि म सबैजनालाई दुई हात जोडेर अनुरोध गर्छु– जुन उहाँहरूको पेसामा तथानाम गालीहरू भएको छ, विभिन्न खालको प्रश्न उठेको छ, यो कसैले नगरिदिनु होला । मेरो आफ्नो भुलको कारणले उहाँहरूलाई यस्तो समस्या आएकाले म आफैँ दुःखी भएको छु । कसैलाई दुःख दिनु, कसैको मनमा चोट पुर्याउनु भनेको एकप्रकारको पाप नै हो । त्यसैले मबाट यस्तो खालको पाप नहोस् र तपार्इंहरूबाट पनि यस्तो खालको पाप नहोस् । मैले जतिजनाको मन दुखाएको छु, नर्सिङ पेसामा जति पनि आबद्ध हुनुहुन्छ, जसको पेसामा दाग लाग्ने काम भएको छ । यसको लागि म क्षमा माग्दै यहाँहरू सबैलाई म अनुरोध गर्छु– नर्सिङ पेसालाई सम्मान गर्नुस् ।
भरतपुर क्यान्सर अस्पताल पहिलादेखि नै सुन्दै आएको हो । असाध्यै राम्रो हस्पिटल, जहाँनेर धेरैजना बिरामी त्यहाँ गयो भने सन्चो हुन्छ भनेर आउनुहुन्छ । मेरो जति पनि फलोअर्स हुनुहुन्छ, हजुरहरूले जथाभावी अनैतिक खालको कमेन्ट नगरिदिनु होला र उहाँहरूको पनि आफ्नो सम्मान, इज्जत छ । डाक्टर, नर्स हामी बिरामीलाई चाहिन्छ । डाक्टर, नर्सलाई पनि बिरामी चाहिन्छ । त्यसैले हामी सबै एकार्काको परिपूरक हौँ । त्यसैले कसैलाई नराम्रो नभनिदिनु होला ।