५० लाख डलरको उच्च महत्वकांक्षी योजना: टेक्ससको नेपाली मन्दिरमा गजुर प्रतिस्थापन
सुष्मा देवकोटा
अमेरिकाको टेक्सस राज्य स्थित डालसको यूलेशमा निर्माण भएको नेपाली मन्दिरमा गजुर प्रतिस्थापन गरिएको छ । नेपाली समाज टेक्ससको आध्यात्मिक तथा साँस्कृतिक केन्द्रद्वारा संचालित नेपाली मन्दिरमा शुक्रबार विषेश कार्यक्रमको आयोजना गरि गजुर प्रतिस्थापना गरिएको हो ।
टेक्ससको नेपाली वाहुल्य क्षेत्र ड्यालस फोर्टवर्थ स्थित युलेस सिटीमा ५० लाख अमेरिकी डलर लागतको उच्च महत्वकांक्षी योजनाका रुपमा निर्माण हुँदै गरेको नेपाली मन्दिर तथा बौद्ध स्तुपा निर्माणको पहिलो चरणको निर्माण कार्य अन्तरगत शुक्रबार नव निर्मित मन्दिरको गजुर प्रतिस्थापन गरिएको हो ।
अर्भिङ्गमा रहेको मन्दिर परिसर साँघुरो हुँदा मन्दिर स्थापनाको उदेश्य अनुरुप सबै बर्गका नेपालीलाई आवश्यक सेवाप्रादायक बन्न नसकेपछि सो मन्दिर १५ लाख डलरमा बिक्री गरेर नयाँ स्थानमा मन्दिर सार्न लागिएको यस मन्दिरको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मन्दिरका मुल पुजारी डा. शेखरप्रसाद पण्डित र पुजारी मेघराज निरौलाबाट विधिवत रुपमा शुक्रबार युलेसको मन्दिरको मुलद्वारमा तीनवटा गजुर प्रतिस्थापन कार्यक्रममा मन्दिरका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु लगायत स्थानीय समुदायको उपस्थिती रहेको थियो ।
कस्तो बन्दै छ नव निर्मित नेपाली मन्दिर ?
५ देखी ६ हजार स्क्वायर फिटको रेफ्रिफा सहितको नव निर्मित नेपाली मन्दिरमा दर्शनार्थी तथा भक्तजनका लागि उत्तर पश्चिम तर्फ दूईवटा प्रवेशद्धार राखिएको छ । ठुलो क्षेत्रपलमा दुईवटा सुविधा सम्पन्न भवन सहितको यस मन्दिरमा आपतकालिन अवस्थाका लागि इर्मेजेन्सी ढोकाको पनि व्यवस्था छ ।
नेपाली समुदायका सबैखाले धार्मिक र साँस्कृतिक आवश्यकताको परिपूर्तिमा गम्भिर देखिएको केन्द्रको आफ्नै सभाहल समेत निर्माण हुँदैछ । करिव एक सय पचास सिट क्षमताको यस सामुदायिक हलमा विवाह, ब्रतवन्ध, सभा, गोष्टी, साहित्यिक सम्मेलन लगायत तिज, शिवरात्री, राम नवमी रक्षा बन्धन लगायतका नेपाली धार्मिक तथा सामाजिक संस्कारका कार्यहरु सम्पन्न गर्न सकिने छ ।
मन्दिरमा जुत्ता राख्ने देखी, योगा, ध्यान, बैठक परामर्ष, भाषा लगायतका बिभिन्न कामका लागि छुट्टा छुट्टै कक्षहरुको व्यवस्था रहने मन्दिर परिसरमा जुत्ता खोल्ने र खोल्न नपर्ने व्यक्तीका लागि छुट्टा छुट्टै प्रवेश द्वारको समेत नियम बनाईने छ । मन्दिर परिसरमा क्याफेटेरियाको पनि स्थापना रहने छ भने विहान मन्दिर खुला हुने समय निश्चीत हुनुका साथै शाकाहारी संस्कार र आचरणलाई ध्यनमा राखिने छ । जसका लागि पूर्ण शाकाहारी खाना मात्र पाइने सर्भिङ्ग रुम पनि रहने छ ।
नेपाली समाज साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको स्थापना सन् २००७ मा भएको हो । स्थापनाको सुरुवाती समयमा मन्दिर निर्माण गर्ने रकमको अभावका कारण चन्दा संकलन समेत गरेको केन्द्र आज आर्थिक रुपमा पूर्ण सक्षम रहेको छ । जसले मन्दिर निर्माणका लागि आफ्नै संस्था नेपाली समाज टेक्सासको समेत कुनै पनि आर्थिक सहायता लिएको छैन ।
अत्यन्त महत्वपूर्ण उपलव्धिका रुपमा हेरिएको मन्दिर निर्माणका लागि केन्द्रले कतैबाट ऋण लिएको छैन । जग्गा खरिद देखी निर्माण कार्य सम्पन्न सम्मका लागि आवश्यक सबै खर्च मन्दिरसंग नै रहेको छ ।
१ हजार २ सय स्क्वायर फिटको स्वास्थ्य परिक्षण केन्द्र समेत स्थापना गरिने बताईएको मन्दिरको नेपाली अमेरिकन मेडिकल एसोसियसन हेल्थ क्लीनिकमा हप्ताको एक दिन विमा नहुने नेपालीको स्वास्थ्य परिक्षण गरिने छ ।
नेपाली बालबालिकाका लागि भाषा पाठशाला, खेलकुद, मनोरञ्जनात्मक वातावरण लगायतका प्रभावकारीतालाई विषेश ध्यानमा राखेर काम अघि बढाईरहेको निर्माण समितीले नेपाली नयाँ पुस्तालाई नेपाली धर्म, संस्कृती, भाषा साहित्य लगायतका मौलिक पहिचान हस्तान्तरणको लक्ष्य राखेको छ । मन्दिर परिसर भित्र हुने कार्यक्रममा मांशहारी परिकार निशेष गरिएको छ भने रात्रिकालिन निश्चित समय बाहेक प्राय समय खुल्ला रहने मन्दिरका कर्मचारिका लागि समेत सेवा प्रादायक बनाउने हेतुले कर्मचारीका लागि पिन नम्बर वा कार्डको प्रयोग अनिवार्य गरिने छ ।
मन्दिरकै कार्यक्रमबाट कर्मचारीको खर्च जुटाउँदै आएको कार्यसमितीले केन्द्रको कोषबाट कुनै पनि रकम लिने गरेको छैन । कार्यसमिती पदाधिकारी समेतको भौतिक र मानसिक श्रमदानको संस्कारका कारण पनि खर्च जोगाउने गरेको केन्द्रले १५ बर्ष पहिले मन्दिर निर्माण कार्य सुरु गर्दा चन्दा संकलन समेत गरेको थियो । तुलनात्मक रुपमा आफ्नै मेहनतले हासिल गरेको यो आर्थिक स्तरोन्नतीमा महत्वपूर्ण फड्को पनि हो ।
एकल प्रयासमा उदाहरणिय कार्य प्रस्तुत गरेको केन्द्रसंग अर्को महत्वपूर्ण सहकार्यको प्रस्थाव पनि आएको छ । नेपाली ऐतिहासिक संस्कृति तथा विश्व सम्पदा झल्कने कार्यक्रमका लागि नेप्लिज चेम्बर्स अफ कमर्सले नयाँ कन्सेप्ट सहित राखेको प्रस्थावबारे निर्णय भै नसकेको भएपनि यसलाई पनि केन्द्रले सकारात्मक रुपमा लिएको छ ।