पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मी सुनको अवैध चोरी पैठारीमा मुछिएका छन् । रेग्मीले अवैध सुन ल्याएर जरिजाना तिरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पुष्टि गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि लागेको विभिन्न आरोपमा छानबिन गरिरहेको छ, सोहीक्रममा भन्सार कार्यालयले रेग्मी सुनको अवैध चोरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।

भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो ।

भन्सार ऐनअनुसार सुन चोरी पैठारी गरी ल्याएकोमा जफत गरिएको उल्लेख गरिएको छ । साथै १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिराइएको उल्लेख गरिएको छ ।

TOP