काठमाडौं महानगरमा अनलाईन नक्सा पास सुरु: विचौलियाका दिन गएको मेयर साहको दाबी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले, अब विचौलिया प्रवृति अन्त्य हुने दाबी गरेका छन् ।
शुक्रबार एक सन्देश जारी गर्दै मेयर साहले, महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको जानकारी दिँदै अब विचौलिया प्रवृति सकिएको घोषणा गरेका हुन्।
भिडियो सन्देशमा उनले भनेका छन् ‘ काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।
यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ । यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’