प्रवासी नेपालीहरूबाट संस्कार र संस्कृतिको जगेर्ना-डा. शेखर पण्डित

।। श्रीगणेशाय नम: ।।
।। नो लङ्घनीया: कुलदेशधर्मा: ।।

प्रवासी नेपालीहरूबाट संस्कार र संस्कृतिको जगेर्ना

हामी नेपालीहरू अध्ययन , अध्यापन, व्यवसाय आदि विविध कारणले आफ्नो मूलस्थलो नेपाललाई छाडेर अमेरिका, वेलायत , अष्ट्रेलिया , क्यानेडा, जापान आदि विश्वका विभिन्न देशमा वसो वास गरे पनि आफ्नो देशको भाषा , संस्कार , संस्कृति ,परम्परागत रीति -रिवाज, एवं चाड- पर्वहरू भावी पिंढीहरूका लागि पनि अक्षुण्ण रहोस् भन्ने हेतुले साथै लिएर आएका हुन्छौं । नेपालकै जस्तो सुविधा सम्पन्नयुक्त-रूपबाट सम्पूर्ण विधि पूरा गर्न नसकिए पनि यथाशक्ति रूपमा परम्परागत रीति -रिवाजहरू मनाउँदै आइरहेका छौं । हुनत , अङ्ग-वङ्गादि तथा म्लेच्छादि देशमा तीर्थ यात्रा विना जान नहुने शास्त्रीय वचनहरू छन् ।

जस्तै :–
अङ्ग-वङ्ग- कलिङ्गेषु सौराष्ट्रमगधेषु च ।
तीर्थयात्रां विना गच्छन् पुन: संस्कारमर्हति ।। धर्मसिन्धु पृ . ४१७
अर्थात् तीर्थयात्राको प्रसंगमा बाहेक अरू समयमा यदि अङ्ग,वङ्ग, कलिङ्ग, सौराष्ट्र (गुजरात )मगध (पटना ) गयो भने पुन: संस्कार ( व्रतबन्धादि कर्म ) गर्नुपर्छ ।

यस्ता विदेश-गमनमा निषेध र पुन:संस्कार बताउने शास्त्रका वचनहरू युगानुकूल प्रवृत्तिले गर्दा ओझेलमा परेका हुन् कि ? अनि चारवर्ण छत्तीस जात भन्ने सामाजिक मान्यता पनि युगान्तरले हटाएको हो कि ? किनभने , श्री ५ सुरेन्द्र विक्रम शाहको पालामा बि सं १९१० मा बनेको मुलुकी ऎनमा केही शास्त्रानुकूल मत मानेर उपयुक्त सम्झी समाजलाई विभेदगरी दलित आदि जातमा र चार वर्ण व्यवस्थामा विभाजन गरेको हुनाले त्यसलाई खारेज गरी सामाजिक एकता कायम रहोस् भन्ने हेतुले श्री ५ महेन्द्र वीर विक्रम शाहबाट २०२० सालमा मुलुकी ऎन लागु गरिएपछि सामाजमा दलितहरू प्रतिको छुवाछुत भन्ने भेद हट्यो । श्रीपशुपतिनाथ जस्ता मन्दिर तथा मठहरूमा पनि दलित भनी भेद भाव गर्न नमिल्ने भयो ।

राष्ट्रिय कानूनको परिधिमा रही समाजमा उपयुक्त नहुने खालका शास्त्रका वचनहरूलाई छाडेर केवल युगानुकूल समाजसित मिल्ने खालका शास्त्रवचनको पालना गर्नु नै युगानुकूल कर्तव्य सम्झनु पर्ने युग आएको हो कि जस्तो बुझिञ्छ । बजारमा रहेका दूध ,दही , घिउ , मह , चिनी , तेल आदि पूजाको लागि आवश्यक सामग्रीहरू खरिद गर्ने समयमा स्पर्शास्पर्शको भावना नउठाई वचनले पनि केही नबोली ” सर्वं पण्यगतं शुचि:” (अर्थात् पैसा हालेर किनेपछि सबै कुरा शुद्धहुन्छ ) को सिद्धान्तलाई निस्सङ्कोच स्वीकार गरी घरमा ल्याएर पूजामा प्रयोग गरेर स्वकर्तव्य पुरागर्नु पर्ने युग आए जस्तो छ । हरेक ५०/५० वर्षमा शास्त्रीय वचनहरूको युगानुकूल व्याख्या हुँदै युगधाराअनुसार धार्मिक तथा सामाजिक रीति स्थितिमा परिवर्तन हुँदै जान्छ भन्ने सामाजिक मान्यता छ ।

यस्तो युगमा आएर हामी नेपालीहरूले विदेशमा रहेर पनि आआफ्नो परम्परागत रीति -रिवाजलाई यथाशक्ति पालन गर्दै आएका छौं । भौगोलिक दृष्टिकोणले विभिन्न देशमा तिथि-मिति फरक पर्ने भए पनि जन्मभूमि नेपाल मूलस्थलो भएका हामी नेपालीहरूमा सामाजिक एकता कायमै रहोस् भन्ने उद्देश्यले अघिल्लो वा पछिल्लो दिन न भनी सामूहिक रूपमा परम्परागत रीति -रिवाजलाई यथावत् कायम राख्दै नेपालकै तिथि मितिलाई अस्वीकार नगरिकन आ आफ्ना संस्कार तथा सांकृतिक परम्पराहरूलाई यथाशक्ति जगेर्ना गर्ने काम हामी नेपालीहरूले गर्दै आएकाछौं । यद्यपि शास्त्रमा तत्तद्देशीय तिथि मिति भए पनि सामाजिक एकतामा आँच नआवोस भन्ने उद्देश्यले र शास्त्रमा पनि लोक (समाज ) विरुद्ध काम न गर्नु भनिएको हुनाले पनि सामाजिक एकता सुदृढ रहोस् भनी विदेशभूमिमा हामीहरूले यथाशक्ति परम्परा धान्दै आएका छौं ।

शास्त्रमा भनिएको पनि छ : 
केवलं शास्त्रमाश्रित्य न कर्तव्यो विनिर्णय: ।
युक्तिहीन – विचारे तु धर्महानि: प्रजायते ।। …… बृहस्पति-स्मृति: ।
यद्यपि शुद्धं लोकविरुद्धं नो करणीयम् नाचरणीयम् ।।-संस्कृत- हिन्दी-कोश पृ ६९५
येनाऽस्य पितरो याता येन याता: पितामहा: ।
तेन यायात् सातां मार्गं तेन गच्छन् न रिष्यते ।।– मनुस्मृति: ४/१७८
कस्मिन्कुले मङ्गलपन्चकं च कस्मिन्कुले मङ्गलसप्तकं स्यात् ।
त्रिमङ्गलं चाऽपि कुले विशुद्धो नो लङ्घनीया: कुलदेशधर्मा: ।।
आज्ञा गुरूणां ह्यविचारणीया । …. रघुवंश: १४/४६

अर्थात् (भावार्थ) :– सामाजिक परम्परागत रीति स्थितिलाई न बुझिकन केवल शास्त्रलाई मात्र हेरेर कुनै पनि विषयको निर्णय गर्नु हुँदैन । (यदि निर्णय गरियो भने ) त्यस्तो युक्तिहीन निर्णयले समाजमा विभेद पैदा गराई धर्ममा हानी गराउन सक्छ ।
शास्त्रले शुद्ध ( योग्य) छ भनेको काम पनि यदि त्यो यदि लोक (समाज ) विरुद्ध छ भने त्यस्तो काम कहिल्यै गर्न योग्य हुन्न नगरियोस् ।
कुनै कारणले सन्देह उपस्थित भयो भने आफ्ना पिता पितामह ( बुबा हजुरबाहरू ) ले जुन बाटो अवलम्बन गरेर हिंड्नु भएको थियो त्यही सज्जनहरूको मार्ग अनुसरण गर्नाले अधर्मको दोषभागी हुनुपर्दैन ।
कुनै कुलमा पाँच (अङ्क )लाई मङ्गल (शुभ ) मानिन्छ भने कुनै कुलमा सात र कुनै कुलमा तीन अङ्कलाईपनि विशेष शुभ मानिन्छ । त्यसैले कुलधर्म तथा देशधर्मलाई कहिले पनि उल्लङ्घन गर्नुहुँदैन शास्त्रमा जे लेखिएको भए पनि मान्यजन पिता माता – गुरुहरूको आज्ञा नै ठूलो मानिन्छ । गुरुहरूको आज्ञामा के, कसो र किन भनी विचार गर्नु नै पर्दैन । त्यसैले शास्त्र भन्दा गुरुको आज्ञा नै ठूलो हुन्छ भनिएको छ ।
उपर्युक्त शास्त्रीय वचनहरूको तात्पर्यलाई बुझेर नै आ आफ्नो धर्म मान्नमा सबैको स्वतन्त्रता भएकोले दशैँ, तिहार जस्ता सामाजिक पर्वहरूमा कसैमा पनि विवाद वा शंका उप- शंका नहुने गरी सामाजिक एकतामा आबद्ध भई तिथि भन्दा पनि रीतिलाई अङ्गीकार गरी नेपाली चाड -पर्व तथा परम्परालाई यथावत् कायम राख्दै अद्यावधि संस्कार र संस्कृति जगेर्ना गर्ने काम गर्दै आएका छौं ।

TOP