निर्वाचन गरिमामा आँच आउने सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न आयोगको आग्रह
निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता र गरिमामा आँच आउने सामग्री पोस्ट नगर्न सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । आयोगले आईतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जाल तथा आमसञ्चारका माध्यमहरूमा गलत र भ्रामक सामग्री पोष्ट नगर्न आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल तथा निर्वाचनका उमेद्वारलाई लक्षित गरी झुटा सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिहरू तथा उमेद्वारको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, वा निर्वाचनलाई प्रत्यक्ष असर पार्ने कुनै पनि सामग्री पोष्ट नगर्न आग्रह गरेका हुन् ।
छिमेकी देशका सञ्चार माध्यमबाट हुन सक्ने राजनीतिक दलको प्रचार–प्रसार वा विज्ञापन नियन्त्रण गर्न नेपाल सरकार मार्फत छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन निर्देशन दिएको आयोगले सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाई निर्वाचनसम्बन्धी सूचनालाई भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाउन विभिन्न आचारसंहिता तथा नीतिहरू सार्वजनिक गरेको उल्लेख गर्दै त्यसको पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ ।