अमेरिका निवासी साहित्यकार गोविन्द ‘प्रेरणा’को कृति ‘टुप्लुक्क टोकियो’ मातृभूमिमा बिमोचित
साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ कृति ’टुप्लुक्क टोकियो’ बिमोचन भएको छ । बिगत डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार गिरीको नियात्रा संग्रह ’टुप्लुक्क टोकियो’ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।
साहित्यिक पत्रकार संघको आयोजनामा आयोजित कृति विमोचन समारोहमा नेपाल तथा अमेरिकामा रहेका साहित्यकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कृतिका बारेमा बोल्दै नियात्राकार प्रतीक ढकाल, संघका अध्यक्ष एवं कार्यक्रमका सभापति राधेश्याम लेकाली, साहित्यकार डा.दामोदर पुडासैनी, ठाकुर वेलवासे लगायतले टुप्लुक्क जापान सरल भाषामा लिखित साहित्यिक दस्तावेजका रुपमा नेपाल, अमेरिका, जपान लगायत विश्वभर बस्ने नेपालीका लागि फरक स्वादको उपयोगी पुस्तक भएको बताएका छन् । साथै साहित्यकर्मीहरुले गिरीलाई बधाई र उनको नयाँ कृतिलाई सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रममा बोल्दै स्रष्टा गिरीले लेखन आफ्ना लागि नशा जस्तै एक आदत बनेको बताउँदै लेखन र अध्ययन बिना आफु बाँच्न सक्छु जस्तो पनि नलाग्ने महशुष साटेका थिए ।
अमेरिका निवासी वरिष्ठ कवि वसन्त श्रेष्ठ र जापान निवासी पुष्करजंग थापालाई सम्मान गरिएको कार्यक्रममा कृतिकार गिरीको साहित्यिक जीवनको प्रशंसा सहित उनको लेखन शैली र क्षमता बारेमा वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।
साहित्यकारहरु किशोर पहाडी ,प्रतीक ढकाल , राधेश्याम लेकाली , श्रीओम श्रेष्ठ , डा. दामोदर पुडासैनी ,वसन्त श्रेष्ठ, जय छाङ्छा , जयदेव भट्टराई ,भीष्म उप्रेती , प्रधुम्न जोशी राजेश खनाल , ,ठाकुर बेलवासे, अश्विनी कोइराला ,सूर्य विसी ,रञ्जना निरौला, पारू तिम्सिना र सरिता खनाल लगायत स्रष्टाद्वारा संयुक्तरुपमा बिमोचित यस कृतिलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो जसको मृल्य २५० रहेको छ ।
करिव ५ दशक देखि निरन्तर कलम चलाउँदै आएका साहित्यकार गिरीका यस अघि ६ कथा संग्रह, ५ उपन्यास, ५ कविता संग्रह, ३ नियात्रा, २ निवन्ध संग्रह र हाँस्य हास्य व्यङ्ग्य, समालोचना लगायतका कृति प्रकाशन छन् भने उनिद्वारा झण्डै एक दर्जन पुस्तक सम्पादन तथा अनुवाद भएका छन् ।
साहित्यका विविध विधामा दशकौं देखी कलम चलाउँदैं आएका साहित्यकार गिरी मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार लगायतबाट सम्मानित स्रष्टा हुन् ।