Trending

काभा महिला च्यालेन्ज कपको तयारी पूरा

एनएससी काभा वुमन्स च्यालेन्ज कप भलिबल जेठ ८ गतेबाट १४ गतेसम्म नेपालमा हुने भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा ८ राष्ट्रको सहभागिता रहने भएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

सोमबार काठमाडौंमा नेपाल भलिबल संघद्वारा आयोजित कार्यक्रममा आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ गते कीर्गिस्तानसंग पहिलो खेल खेल्ने जानकारी दिइयो । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच पनि प्रतिष्पर्धा हुनेछ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले जेठ ९ गते बंगलादेशसँग, र जेठ १० गते भारतसँग खेल्नेछ ।

समूह एमा आयोजक नेपालसहित भारत, बंगलादेश र कीर्गिस्तान रहेका छन् भने अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान छन् । दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल २० खेल हुनेछ ।

सोमबार आयोजित कार्यक्रममा बिभिन्न व्यक्तिहरुले प्रतियोगिताको लागि सहयोगको घोषणा गरेका थिए ।

प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलीमा कविता भट्ट, संगम महतो, प्रगति नाथ, रिमा कुँवर, पूजा चौधरी, शान्ति कला तामाङ, निरुता ठगुन्ना, पुनम चन्द, अरुणा शाही (कप्तान), सरस्वती चौधरी, सलिना श्रेष्ठ, सोफिया पुन, उषा भण्डारी र कामना विष्ट रहेका छन् ।

TOP