साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा
भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ ।
वर्षौँदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुआत गरेको हो । स्थानीयलाई सहज स्वास्थ्य सेवा दिलाउनका लागि आधारभूत स्वास्थ्य अस्पतालमा दरबन्दी कायम गरी वडा नं २ कुलुङमा मेडिकल अधिकृत डा. महमत बचरुदिन अन्सारीलाई खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।
‘साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक मेडिकल अधिकृतको स्वास्थ्य सहित आधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सफल भएका छौँ’, उनले भने, ‘खास गरेर यहाँका नागरिकले भोग्दै आएको स्वास्थ्योपचारको समस्यालाई ध्यानमा राखेर अथक प्रयासपछि सहज सेवा दिन सफल भएका छौँ । यहाँका नागरिकलाई मेडिकल अधिकृतबाट सेवा लिने अवसर मिलेको छ ।’