आजकाे माैसम : तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना
नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ । दिउँसो देशभर पूर्णतया बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।