Trending

खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा १० लाख बढी आर्थिक संकलन

खजुरा । बाँकेको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलनले तिब्रता पाएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । आइतबार मात्र महायज्ञमा उपस्थित ठुलो संख्याका भक्तजनहरुबाट दान प्राप्त भएको महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । खजुरा क्षेत्रलाई धार्मिक पर्यटकिय स्थल बनाउने र खजुरामा ६० फुट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञमा अहिले सम्ममा सबैभन्दा बढी खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ दान गरेकी छन् भने उद्योगी प्रदीप छाजेडबाट एक लाख एक हजार एक सय एघार दान गरेका छन् ।

बर्दिया मधुबनका भक्तबहादुर केसीबाट एकलाख एक हजार दान दिएका छन् । धेरै श्रद्धालुहरुको सहभागीता गराउने उद्देश्यले आयोजकले ५ हजार देखि नै शिलालेखमा नाम लेखाएने व्यवस्था मिलाइएको समितिका कोषाध्यक्ष बिजय बुढाथोकीले बताए । ५० हजार बढी दान गर्नेहरुमा स्थानीय स्वास्थ्यकर्मी सुदीप पौडेल, सुबेदार रामबहादुर केसी, स्थानीय चन्द्रा बोगटी, धनबहादुर केसी लगायत रहेको कोषाध्यक्ष बुढाथोकीले बताए । महायज्ञमा माधुर्यवाचक बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् । ४ करोडको लागतमा निर्माण हुने मूर्ती निर्माणका लागि महायज्ञबाट २ करोड र बाँकी अनुदान संकलन गरेर निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आज ठुलो परिमाणमा आर्थिक संकलनको अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

TOP