५ दलीय गठबन्धन: नेता पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन भएको छ । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेलका लागि वरिष्ठ नेता पौडेलको संयोजकत्वमा समिति गठन भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको बैठकद्वारा गठित समितिमा बिभिन्न दलका शिर्ष नेताहरु रहेका छन् । जस अन्तरगत समिति सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् ।
त्यस्तै माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ रहेको समितीमा एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल भने जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।
मुलुकुको अर्थतन्त्रको अवस्थाबारे सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय समेत गरेको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गरेका छन् ।
समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष समेत निकालेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी रहेका थिए ।