Trending

सांसद शर्मामाथि प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाएको छ। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार पक्राउ गरेको हो।

‘उहाँ (सुनिल शर्मा) लाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो’, नेपाल प्रहरीको उच्च स्रोतले भन्यो, ‘प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा उहाँ आफैंले थपेको पाइएको छ।’

मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा। शेखर कोइरालानिकट मानिन्छन्। उनले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा। प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए। शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए।

‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले भनेका थिए।

कांग्रेसकै सांसद शर्माको सार्वजनिक अभिव्यक्तिका कारण अर्थमन्त्री डा। महत रुष्ट बनेका थिए। उता गृहमन्त्री श्रेष्ठ पनि उनीसँग चिढिएका थिए। नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा.महतले गत साउन १० गते नै सांसद शर्मामाथि कारबाही गर्ने चेतावनी दिएका थिए। पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउने क्रममा महतले उक्त चेतावनी दिएका थिए।

शर्माले आफ्नो अस्पतालमा स्वास्थ्य बिमाको व्यवस्था गर्न दबाब दिँदा आफूले नियमसम्मत हुने भनेपछि जथाभावी बोल्दै हिँडेको आरोप मन्त्री महतको थियो। सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन्।

शर्माले बुधबार प्रतिनिधिसभाको बुधवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए। सुन तस्करी प्रकरणमा मन्त्री महतको समेत संलग्नता रहेको आरोप शर्माले लगाएका थिए। तर महतले शर्माले अराजकता र अनुशासनहीनता प्रस्तुत गरेको बताए। महत कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन्।

TOP