Trending

३२ बर्षमा ज्यान गुमाएकी गौराकी नवजात शिशु सहित ३ छोरी सरुको तुलसालयमा

हुम्लाको अदानचुली–५ मा छैटौं छोरी जन्माए लगत्तै मृत्यु भएकी ३२ बर्षिया गौरा छत्यालका ६ छोरीमध्य ३ छोरीको रेखदेख र लालनपालनको जिम्मा तुलसादेवी हरिहर फाउण्डेशनले लिएको छ ।

गत पुस २९ जन्मिएकी बालिकाको शुक्रवार फाउण्डेशन भक्तपुर चागुनारायण स्थित तुलसालय आश्रममा न्वारन हुँदैछ । संस्थाकी अध्यक्ष सरु सुवेदीका अनुसार काठमाडौं ल्याउने प्रकृयाका कागजातमा उनको नाम प्रकृती राखिएको भएपनि भोली न्वारनमा नवजात शिशुको नाम स्तुती राखिने छ ।

फाउन्डेसनको तुलसालय आश्रममा नवजात शिशु सहित उनका ५ र ७ बर्षका दिदीहरुलाई समेत हुम्लाबाट ल्याएर संरक्षण दिईएको छ ।

३२ बर्षमा ६ सन्तान जन्माएर बिदा भईन् गौरा

देशमा महिला अधिकारका नारा सबै भन्दा शिर्ष स्थानमा रहेको समयमा हुम्लाको अदानचुली–५ मा अत्यन्त अप्रिय घटना घट्यो । गत पुस २९ गते अदानचुली–५ की गौरा छत्यालले छैटौं पटक छोरी जन्माएको केही वेरमा नै प्राण त्याग गरिन् । गौरा जम्मा ३२ वर्षिया महिला हुन् । ३२ बर्षको उमेरमा छैटौं सन्तान जन्माएकी उनको आफ्नो छैटौं सन्तान पनि छोरी भएको खबर सुन्ना साथ मृत्यु भयो अर्थात उनको लगातारको सुत्केरी शरिरले फेरी पनि छोरी नै जन्मिएको खबर सहन सकेन । यो घटना सरकार र महिला अधिकारकर्मीका लागि समेत गम्भिर प्रश्न हो भलै हुम्लाको आदनचुलीको यो घटना सामान्य लाग्ला अरुलाई । ३२ बर्षिया आमाको त मृत्यु भयो अव यि ६ सन्तानको लालनपालनको अवस्था अझै कारुणिक बन्यो ।

मृतक गौराका श्रीमान गोरख छत्याल दमका रोगी छन् । अत्यन्त गरिव अवस्थाका गोरख र गौराको छोरा जन्माउने रहरले गौराको ज्यान गएपछि नवजात शिशु सहितका ६ जना छोरीहरुको रेखदेखको जिम्मेवारी समेत लिने परिवारमा कोही भएन, हुनसक्छ यो गौराको वाध्यता थियो या नेपाली समाजको छोरा चाहिन्छ भन्ने मानसिकताको पराकाष्ट प्रभाव । जे होस् कयौं छोरी अविवाहित नै रहने यस उमेरमा उनले ६ छोरी जन्माउँदा जन्माउँदै प्राण त्यागिन् ।

सरु सुवेदीले पाएको बिचल्लीको खबर

आमा गुमाएका छ जना बच्चाहरुको बिचल्ली भएपछि गाउँले तथा आफन्तद्वारा बालिकाहरुको सुरक्षित जिम्मा लिने संरक्षक संस्था या व्यक्तीको खोजी भयो । नवजात शिशु १४ दिनकी भएको दिन तुलसादेवी हरिहर फाउण्डेशनकी अध्यक्ष सरु सुवेदीलाई फोन मार्फत अवस्थाबारे जानकारी गराईयो र स्थानिय कमल छत्याल, जयराज छत्याल र तीर्थ रोकायासंगको फोनवार्ता पछि सुवेदी सहितको फाउन्डेसनको टिम हुम्ला पुग्यो र ६ मध्य नवजात सहित ३ छोरीको संरक्षणको जिम्मा लियो । फाउण्डेशनले सम्पूर्ण जिम्मेवारी निर्वाह गर्ने गरी फर्किएको टिमसंगै नवजात शिशु सहित उनका ५ र ७ वर्षका दुई दिदीहरु पनि भक्तपुर आएका छन् । बाँकी हुम्लामा रहेका ३ छोरी मध्य एउटी २ बर्षकी अर्की ९ बर्ष र सबैभन्दा ठुली ११ बर्षकी छोरी छन् । यसरी हेर्दा गौराले किशारावस्था देखी लगातार मृत्यु हुँदा सम्म बच्चा जन्माईरहेको देखिन्छ ।

ललितपुर नख्खुडोलमा रहेको फाउण्डेशनको तुलसालय आश्रमको घर साँघुरो भएपछि केही समय अघि मात्र भक्तपुरको चाँगुनारायणमा सारिएको आश्रमको नयाँ घर सर्ने पुजासंगै शुक्रबार १ महिना पुग्दै गरेकी नवजात शिशुको पनि न्वारन हुने जानकारी सुवेदीले दिएकी छन् । अहिले स्व.गौराका ३ छोरीले संरक्षण पाएका छन् । सानी छोरी १ महिनाकी भईन् । उनले पाएकी नयाँ आमा सरु सुवेदीको साथमा शुक्रवार उनको न्वारन हुँदैछ ।

नयाँ छोरीको नाम स्तुती

नेपालको ग्रामिण सोच र महिलाको अवस्थालाई नमिठो गरि चित्रण गरेको यस घटनामा आश्रय पाएका ३ छोरीहरु संगै बालक देखी बृद्ध सम्म गरी ३० जना रहेको तुलसादेवी हरीहर फाउण्डेसनको तुलसालय संस्थापक सरु सुवेदीले आफ्नी स्व. आमा तुलसाको नाममा स्थापना गरेको आश्रम हो । जसको अल्पआयुमा नै निधन भएको थियो । त्यसैले पनि उनि आमा गुमाएकी नवजात शिशु र अल्प उमेरमा नै ६ सन्तान छोडेर गएकी आमासंग जोडिएको यस अप्रिय समाचारले अझै बढि भावुक भएकी थिइन् ।

काठमाडौँ ल्याउनका लागि गराइएको जन्मदर्तामा प्रकृति नाम राखिएको जानकारी दिंदै उनले भोली न्वारनमा भने छोरीको नाम स्तुती राख्ने जानकारी दिएकी छन् । सुवेदीका अनुसार कम उमेरमा नै बिबाह गरेका छोरीहरु, छोराको रहरमा धेरै सन्तान जन्माउनु परेका आमाहरु र तिनको अल्पआयुमा नै हुनेगरेका कारुणिक निधनको श्रृंखला रोक्कियोस् भनेर भगवानसंग स्तुती गरिरहेकाले सबैभन्दा सानी छोरीको नाम स्तुती राख्ने सोचेकी हुन् ।

सुवेदीको तुलसालयमा विपन्न तथा अनाथ परिवारका १८ जना बालबालिका सहित ७२ वर्ष उमेर सम्मका ३० जना छनाले संरक्षण पाईरहका छन् । अध्यक्ष सुवेदीका अनुसार फाउडेशनले आश्रम संचालन अहिले सम्म अनुदान र सहयोगका भरमा संचालन गरिरहेको छ । आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ लगायत अन्य अवसरमा आएर आर्थिक तथा अन्य सहयोग गर्दै आएका छन् ।

अहिले आएकी नयाँ बच्चालाई आश्रम सम्म ल्याउनका लागि आवश्यक खर्च समेत नहुँदा उनले फेसबुक मार्फत जानकारी सहितको सहयोग अपिल गरेकी दिईन् । केही संकलित सहयोग र केही आफैले खोजेर उनले शिशु सहित उनका दुई दिदीहरुलाई ल्याएकी हुन् । कतिपय अवस्थामा आफैंले व्यक्तीगत सहयोग गरेपनि आश्रम संचालन देखी त्यहाँ रहेका सबै उमेर समुहकाहरुलाई आवश्यक खर्च ठुलो आउने हुँदासुरु गरेको यस सामाजिक अभियानलाई सहयोग गर्न अध्यक्ष सुवेदीले आग्रह पनि गरेकी छन भने सहयोग गर्दै आएका
इल्या भट्टराई, अशेष मल्ल लगायत अमेरिकामा रहेका केही नेपालीले समेत सहयोगको प्रतिवद्धता गरेको प्रति खुसी व्यक्त गरेकी छन् ।

टुहुरी आमाको टुहुरो कथाले जन्माएको तुलसालय

सुवेदीकी आमा तुलसादेवी ४ बर्षकी हुँदा आमा गुमाएर टुहुरी बनिन्, सानै उमेरमा बिबाह भयो उनका पनि छोराछोरी जन्मिए तर ४४ बर्षको उमेरमा नै २०५० सालमा उनको निधन भयो । जतिबेला सरु सुवेदी १६ बर्षकी मात्र थिईन् ।राजनितीक परिवर्तनको नयाँ रुप भनिएको आजको अवस्थामा त छोराको चाहनामा लगातार ६ छोरी जन्माएर त्यहि पिडाले कम उमेरमा नै आमाको मृत्यु हुन्छ भने आज भन्दा २८ बर्ष पहिलेको नेपाली समाजको अवस्था कस्तो थियो होला ।

सरुले आमाको महत्व र सन्तानको मानसिकता सानै उमेरमा महशुष गरिन् आफ्नै जीवनको घटनाबाट । आमा टुहुरो हुँदाका पिडा सुनेकी उनि स्वयंले पनि आमा गुमाएपछि उनलाई सो समयबाट नै सामाजिक कामप्रति झुकाव बढेको हो । आमा र सन्तानको सम्बन्ध अत्यन्त गहिरो हुने बताउँदै आएकी सुवेदीले २०७४ सालमा तुलसादेवी हरिहर फाउण्डेशनको स्थापना गरेकी हुन् र फाउण्डेशनको तुलसालय आश्रम उनकी आमाको नामा र सम्झना बोकेको आश्रम हो । ललितपुरमा घर साँघुरो भएपछि उनले बच्चाहरु खेल्ने समेत ठाउँ चाहिन्छ भन्ने सोचेर भक्तपुरमा आश्रम सारेकी हुन् । आफ्ना सन्तानहरुको सपना र आत्मियता जोडिएकाले पनि होला उनलाई बाहिरी दुनिया भन्दा प्यारो छ आश्रम भित्रको परिवार ।

आमाको टुहुरो कथाबाट सुरु भएको फाउण्डेशन र आश्रमले कोभिड महामारीको समय सडक बालबालिका तथा सबै उमेर समुहका असाहाय तथा बिभिन्न स्थानका बिपन्न बर्ग गरी ७५ हजार नागरिकलाई सहयोग गरेको थियो साथै यस अवस्थामा आश्रय बञ्चित धेरै जनालाई आश्रमले आश्रय समेत दिएको थियो ।

TOP