Trending

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण सहित सम्मान प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गर्दै सम्मान प्रकट गरेकी छन् ३००औँ पृथ्वीजन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबार पश्चिम मूलढोका पुगी त्यहाँ रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेकी हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, पूर्व उपप्रधानमन्त्री कमल थापा लगायतले नेपाल एकिकरणका निर्माता शाहको योगदानको कदर स्वरुप माल्य तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।

बाईसे चौविसे राज्यमा बिभक्त देशलाई एकताको सुत्रमा बाँधेर आजको नेपाल निर्माण गरेका राष्टपिता शाहको शालिकमा आयोजक सबै संस्था, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, राष्टभक्त बिभिन्न संघ संस्था र आम नागरिक समेतले सम्मानपूर्वक पुष्प तथा माल्यापर्ण गरेको कार्यक्रमको सुरुवात कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा सहित राजधानीको विभिन्न भाग परिक्रमाबाट भएको थियो ।

सिंहदरबारको पश्चिम मूलढोकामा रहेको शालिकमा आएर परिक्रमा गरेको शोभायात्राले देशको माया दर्साएको भन्दै आम नागरिक र सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन् ।

विसं १७७९ सालमा गोरखामा जन्मिएका राजा पृथ्वीनारायण शाह कम उमेरमा नै प्रभावशाली नेतृत्व क्षमता भएका राजाका रुपमा चिनिन्छन् । उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। २००७ सालको क्रान्ति सफल भएपछि नेपालमा आएको प्रजातन्त्र बाहाली पश्चात योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।

विसं १७९९ चैत २५ गते राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरी नेपाल राज्य स्थापित गरेका थिए ।

TOP