‘गोली खान तयार छौँ, लघुवित्त संस्थाको ज्यादती सह्य छैन’
‘यदि तपाईलाई गोली हान्न आदेश छ भने हामी त्यो गोली खान पनि तयार छौँ । हामीले आफ्नो प्राण हातमा लिएर आएका छौँ । घरमा गएर खाने अन्न छैन भने हामी गोली खान तयार छौँ ।’ यो चित्कार हो । लघुवित्त तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै संसद् भवन घेराउ गर्न पुगेका पीडितहरूको ।
बुधवार दिउँसो लघुवित्तले ज्यादती गरेको भन्दै वित्तीय संस्थापीडित सङ्घर्ष समितिले संसद् भवन घेराउ गरेको थियो । नयाँ बानेश्ररस्थित संसद् भवन घेर्न पुगेका लघुवित्त पीडित र प्रहरीबिच केही समय घम्साघम्सी समेत भएको थियो । लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पिडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति, नेपालको अगुवाइमा संसद् भवन घेराउ गर्न पुगेका थिए ।
ऋण निकालेर बैंकलाई तिर्नका लागि अर्को बैकंबाट पैसा निकालेर त्यही पैसा एउटा बैङ्कबाट निकाल्दै अर्कोमा तिर्ने प्रक्रिया निरन्तर चलेर अन्तमा ऋणको किस्ता तिर्न पैसा नभएको र सम्पूर्ण सम्पत्ति यही प्रक्रियामा सकिएको आन्दोलनमा सहभागी एक पीडितको भनाइ थियो । बैङ्कमा तिर्नका लागि आफूसँग पैसा नभएपछि मिटरव्याजमा समेत पैसा निकालेर बैङ्कलाई किस्ता तिरेको पीडितको गुनासो छ ।
त्यस्तै आन्दोलनमा सहभागी अर्का एक पीडितले भने,जबसम्म लघुवित्त संस्था खारेज हुँदैन तबसम्म देशमा शान्ति हुँदैन। राज्यलाई बारम्बार ज्ञापन पत्र बुझाउँदा पनि केही नगरेको गुनासो आन्दोलनमै सहभागी एक पीडितको थियो । संसद् भवन घेराउ गर्न पुगेका पीडितहरूको साझा माग भनेकै लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका माग रहेको थियो ।
पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाले ऋणीमाथि गरेको ज्यादती गरेको भन्दै उद्यमीहरू सडकमा आन्दोलन गर्न बाध्य भएका छन् । वित्तीय क्षेत्रको मनोमानी विरुद्ध उनीहरू सडक सङ्घर्षमा उत्रिएका हुन् ।
के हो लघुवित्त भनेको?
नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत सङ्कलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत सङ्कलन गर्ने संस्था लघुवित्त वित्तीय संस्था हो ।
यसरी बुझौँ लघुवित्तको महत्त्व
लघुवित्तहरू ग्रामीण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर सञ्चालित हुन्छन् । यस्ता बैङ्कहरू जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् । बिना धितो कर्जा,सामाजिक क्षेत्रमा योगदान,उद्यमशीलता विकास आदि गर्ने भएकाले यसलाई महत्त्व दिने गरिएको छ । नेपाल जस्ता अति कम विकसित वा विकासशील मुलुकमा मात्र होइन, विकसित मुलुकहरूमा पनि लघु उद्यमी तथा लघुवित्तको महत्त्व ज्यादै नै बढी छ । थोपा थोपाले समुद्र बन्छ भनेजस्तै ज्यादै सानो सानो व्यवसाय र रकम मिलेर नै मुलुकको समग्र विकास सम्भव हुन जान्छ । लघु उद्यमीहरूले ज्यादै सानो पुँजी र ठुलो परिश्रम लगाएर स्थापना गरेका लघु व्यवसायले गर्दा नै मुलुकका विपन्न वर्गको जीवनस्तर उकास्न र साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको जोहो गर्न निक्कै सहज वातावरण बन्न सक्दछ ।
तर पछिल्लो समय लघुवित्त संस्थाको प्राथमिकता वित्तीय पहुँच बढाउनेभन्दा नाफा बढाउनेमा केन्द्रित हुँदा समस्या देखिएको छ । अहिले लघुवित्त संस्थाले ठग्ने गरेको, राष्ट्र बैङ्कले निर्धारण गरेभन्दा बढी सेवा शुल्क र ब्याज लिने गरेको, स्वीकृत कर्जाभन्दा कम रकम मात्र ऋणीलाई दिने गरेको तथा ऋणीले साँवा र ब्याज बुझाउँदा समेत रेकर्ड नराखी ठग्ने गरेको जस्ता गुनासा बढिरहेका छन् । जसले गर्दा पीडितहरू सडकमा उत्रिन बाध्य भएका छन् ।
तर पछिल्लो समय व्यवसाय गर्छु भन्दै लघुवित्तबाट ऋण निकालेर ऋण तिर्न नसकेर घर नै छाडेर भागेको घटना पनि सुन्न सकिन्छ । विपन्न तथा आर्थिक अवस्था सुधारका लागि लघुवित्त संस्थाहरूले सहुलियतमा ऋण प्रदान गर्ने गर्छन् । तर अहिले यही ऋण नागरिकका लागि पासो बन्ने गरेको छ, कारण हो उपलब्ध ऋणको दुरुपयोग ।उद्यमशीलतामा लगानी गर्नका लागि लिइएको ऋण अन्य घरायसी व्यवहारमा, व्यक्तिगत प्रयोजनमा, विलासिताका सामान खरिदमा, अनुत्पादनशील क्षेत्र लगायतका कार्यमा उक्त रकम प्रयोजन हुँदा ऋणको प्रभावकारिता पुष्टि हुन सकेको छैन । यद्यपि संस्थाको विभिन्न नीति तथा कानुनका कारणले ऋणीका लागि केही असहजता भने पक्कै भएको छ । यस विषयमा सरोकारवाला निकाय र सम्बन्धित संस्थाको ध्यान जान जरुरी छ ।