गैर आवासिय नेपाली नागरिकताको विषयप्रति एनआरएनए अमेरिका पुन: प्रतिवद्ध
आम गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाली नागरिकताको विषयप्रति पुन प्रतिवद्ध देखिएको छ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले विज्ञप्ती जारी गर्दै गैर आवासीय नेपालीले उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरताको विषयलाई महत्वका साथ हेरिनुपर्ने धारणा ब्यक्त गरेका हुन् ।
विज्ञप्तीमा उल्लेख भए अनुसार नेपालको नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितिवाट पारित भई प्रतिनिधि सभाको पूर्ण वैठकमा पेश हुन प्रतिरक्षारत रहेको र हाल प्रतिनिधि सभाको वैठक स्थगित गरिएको अवस्था रहेकाले प्रतिनिधि सभाको वैठक डाकिनु अघिको समयमा अझ एनआरएनहरुले कानुनवाटै नेपाली नागरिकताको निरन्तरतालाई कार्यन्वयनमा लैजान आवश्यक कार्यहरु गर्नु पर्ने आवश्यकता रहेको छ ।
खासगरी हामी राष्ट्रिय समन्वय परिषद्, अमेरिका सदैव अमेरिकाबासी गैर आवासीय नेपालीले मुख्य चासोको रुपमा लिदैं आएको नेपाली नागरिकताको निरन्तरताको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष शाहले अमेरिका र नेपाल विचको ऐतिहासिक कुटनीतिक सम्वन्धलाई आगामी दिनमा अझ प्रभावकारी र सहकार्यमुखी बनाउनका लागि संघले आफ्नो ठाउँवाट भूमिका खेल्दै जाने बताएका छन् ।
यस्तो छ एनआरएनए अमेरिकाको तर्फवाट अध्यक्ष शाहद्वारा जारी विज्ञप्ती
मितिः अगस्त ११, २०२०
विज्ञप्ति
आदरणीय समस्त गैर आवासीय नेपालीमा हार्दिक नमस्कार ।
आम गैर आवासीय नेपालीको साझा र प्रतिनिधिमुलक संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तर्फवाट कोरोनाको यो महामारीवाट जोगिन सुरक्षाको सक्दो उपाय अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं । तपाई सम्पूर्णको सु–स्वास्थ्यको कामना समेत गर्दछौं । कोरोना महामारीसँग जुधिरहँदा हामी गैर आवासीय नेपालीले उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरताको विषयलाई पनि उत्तिकैं महत्व दिनुपर्ने आवश्यकता खड्किएको छ । नेपालको नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितिवाट पारित भई प्रतिनिधि सभाको पूर्ण वैठकमा पेश हुन प्रतिरक्षारत रहेको छ । हाल प्रतिनिधि सभाको वैठक स्थगित गरिएको अवस्था छ । प्रतिनिधि सभाको वैठक डाकिनु अघि यो वेला अझ हामीले कानुनवाटै नेपाली नागरिकताको निरन्तरतालाई कार्यन्वयनमा लैजान आवश्यक कार्यहरु गर्नु पर्ने आवश्यकता रहेको छ ।
खासगरी हामी राष्ट्रिय समन्वय परिषद्, अमेरिका सदैव अमेरिकाबासी गैर आवासीय नेपालीले मुख्य चासोको रुपमा लिदैं आएको नेपाली नागरिकताको निरन्तरताको पक्षमा विगतदेखिनै उभिदैं आएको सबैमा जानकारी नै रहेको छ । यसको पक्षमा आज पनि राष्ट्रिय समन्वय परिषद्, अमेरिका रहेको यहाँहरु समक्ष पुन: स्मरण गराउन चाहन्छौं । यसका साथैं एकद्वार कर प्रणालीको व्यवस्थाको माग देखि नेपालमा आर्थिक देखि सबै प्रकारको लगानी र सरल ढंगवाट नेपालमा व्यवसाय गर्नका लागि वातावरण निर्माण गर्नका लागि संघले निरन्तर पहलकदमी गरिनै रहेको छ । अमेरिका र नेपाल विचको ऐतिहासिक कुटनीतिक सम्वन्धलाई आगामी दिनमा अझ प्रभावकारी र सहकार्यमुखी बनाउनका लागि संघले आफ्नो ठाउँवाट भूमिका खेल्दै जाने नै छ ।
नेपाली नागरिकताको निरन्तरता लगायतका मुद्दामा अझै प्रभावकारी रुपमा कार्य गर्नका लागि सक्रियतापूर्वक लाग्न गैर आवासीय नेपालीहरुले गैर आवासीय नेपाली संघलाई रचनात्मक सहयोग र आवश्यक पर्दा दवाव समेत दिदैं आउनुभएको छ, यसले संघलाई अझ प्रभावकारी ढंगवाट अघि बढ्न सहयोग पुगेको छ । एनआरएनए अमेरिका सदैव नेपाली समुदायको चाहनालाई सम्मान व्यक्त गर्दछ, ती मुद्दाहरुलाई सम्बन्धित तहमा पुर्याउन र आफ्नो तर्फवाट गर्नु पर्ने कार्य गर्न सदैव सक्रिय रहेको पनि यहाँहरुमा अवगत नै छ ।
एनआरएन अमेरिकाले विभिन्न फोरमहरुमा नेपाली नागरिकताको निरन्तरताको विषयलाई महत्वका साथै उठाउंदै आएको छ । र सँग सँगै नेपाली नागरिकता निरन्तरताको विषय एनआरएनए अभियानको सुरुवाती चरणदेखिनैं एउटा महत्वपूर्ण एजेण्डाको रुपमा रहेको छ । यस पटक अमेरिका क्षेत्रवाट संघको अन्तराष्ट्रिय समन्वय परिषद्को पदाधिकारी समितिमा दुई जना उपाध्यक्ष, सचिव लगायत करिव तीन दर्जन भन्दा वढी आईसीसीसँग आवद्ध हुनुहुन्छ । आईसीसीमा प्रतिनिधित्व गर्ने उपाध्यक्षद्धय र सचिव ज्यू लगायत सवैलाई नेपाली समुदायको यो चाहना अनुसार नागरिकताको निरन्तरता लगायतका मुद्दालाई विशेष महत्व दिएर एक भई सम्वन्धित निकायमा अझ प्रभावकारी रुपमा विषय राख्नका लागि हामी राष्ट्रिय समन्वय परिषद्, अमेरिका हार्दिक आग्रह गर्न चाहन्छौं । यसका लागि एनआरएनए अमेरिका सधैं तपाईहरु संगै छ भन्ने विश्वास पनि दिलाउन चाहन्छौं । आवश्यक परेको खण्डमा यो अभियानलाई नेतृत्वदायी भूमिका दिएर अघि बढ्न पनि आइसिसीको सहयोग र समन्वयमा एनआरएनए अमेरिका तयार रहेको पनि यहाँहरु सबैमा प्रतिवद्वता जनाउन चाहन्छौं ।
आइसिसीको पदाधिकारीमा अमेरिकावाट तिन जना रहनुभएको वर्तमान अवस्थामा यसवाट यहाँको नेपाली समुदाय उत्साहित र आशावादी रहेको देखिन्छ । यो आशा र उत्साहका बीच नेपाली नागरिकताको निरन्तरताको मुद्दालाई एक आपसमा समन्वय गरेर आइसिसीमा रहनुभएका पदाधिकारी लगायत विभिन्न तह तप्कामा प्रतिनिधित्व गर्नेहरुवाट प्रभावकारी ढंगवाट उठान हुनेछ भन्नेमा राष्ट्रिय समन्वय परिषद् समेत आशावादी रहेको छ । आशा निराशामा परिणत हुन नदिन सबैंले यसको गम्भिरतालाई बुझ्नुहुनेछ भन्ने विश्वास रहेको छ । गैर आवासीय नेपाली संघ, अमेरिका आइसिसीमा प्रतिनिधित्व गरिरहनुभएका अमेरिकाज क्षेत्रका एनआरएन अभियन्ताहरु र एनआरएनए आइसिसी नेतृत्वसँग नागरिकताको निरन्तरता सम्बन्धी मुद्दालाई प्रमुखता दिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छ ।
अमेरिका, क्यानडा लगायत केही देशमा निश्चित समय स्थायी रुपमा बसोवास गरेपछि त्यस देशको नागरिक वन्न योग्य हुने व्यवस्था छ । तर, विदेशको नागरिकता लिएपछि नेपाली नागरिकता स्वत रद्द हुने नेपालको कानुनले कयौं नेपालीले अमेरिका, क्यानडा लगायतका देशमा नागरिकता लिने नलिने भन्ने सन्दर्भमा अन्यौलमा पर्ने गरेको देखिन्छ । यो नेपालको मायाले गर्दा हो । नेपालमा गएर जन्मेको देशका लागि केही गर्छु भन्ने इच्छाले नेपाली नागरिकता छोड्नका लागि कठिन भएको हो । यो नागरिकताको प्रक्रियागत झन्झटले नेपाली समुदायले कयौं अवसर गुमाउनु परेको छ । जसले नेपाली नागरिकता पाईसक्नुभएको छ यसलाई निरन्तरता दिई विदेशमै जन्मेका सन्ततिलाई गैर आवासिय नागरिकताको व्यवस्था हुन सके हाम्रो समुदायलाई सजिलो पर्छ । यस्तो गर्दा नेपाललाई कुनै हानी पनि छैन । खाली हामीले यसलाई राम्रोसंग वुझाउन नसकेको मात्र हो । एनआरएनए नागरिकताको व्यवस्था संविधानले गरेको छ । यो कानुन वन्ने क्रममा छ । तर, एनआरएनए नागरिकताले मात्र हाम्रो समस्या समाधान हुंदैन । हामीले नागरिकताको निरन्तरतामा नै जोड दिनुपर्दछ ।
नेपाल लगायत नेपाली समुदायलाई फाइदा हुने यो मुद्दालाई नेपाल सरकार र सम्वन्धित निकायसंग अझ जोडदार रुपमा उठाउनु पर्ने हामीले महसुस गरेका छौं । एनआरएनए अमेरिका आपत विपतमा भरोसा योग्य संस्थाका रुपमा विकसित भईरहेको छ । हाम्रो संजाल विस्तार भईरहेको छ । यसलाई अझ विस्तार गर्न हामीसँगै लागिपरेका छौं । आईसीसी र एनसीसीका विच विश्वास, सहयोग, सहकार्य र समन्वय गर्दै गैर आवासीय नेपालीका मुद्दाहरुलाई सम्बोधन गर्ने दिशामा हामीहरु अगाडि बढ्नुपर्दछ । र अन्त्यमा, विगतमा जस्तै आगामी दिनमा पनि नेपाली समुदायको साथ, सहयोग, समर्थन र सल्लाह प्राप्त हुने नै छ भन्ने विश्वास हामीले लिएका छौं । सबैको साझा र एकतावद्व सक्रियताले मात्रै धेरै हाम्रा मुद्दाहरु सम्बोधन हुने दिशामा अघि बढ्नेछ त्यसका लागि सबैले आ–आफ्नो ठाउँवाट योगदान गरौं ।
धन्यवाद ।
जय एनआरएनए !
सुनिल साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् , अमेरिका