गृहसहितको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुहुन्छ : मुकुल ढकाल
काठमाडौं । सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने मनस्थितिमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबारसम्मका लागि ‘होल्ड’ भयो । कारण हो– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसहितको मन्त्रालय दिने प्रस्ताव राख्नु ।
‘प्रधानमन्त्री दिन तयार हुनुहुन्छ,’ प्रवक्ता डा.मुकुल ढकालले भने, ‘नीति तथा कार्यक्रम पुनर्लेखन गर्न पनि प्रधानमन्त्री सहमत हुनुहुन्छ ।’ त्यसो भए रास्वपा सरकारमा सहभागी हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘मिहिन ढंगले अध्ययन गर्दै छौँ । सरकारको स्थिरता हेरेर निर्णय गर्छौं ।’
सरकारमा सहभागी भएका अन्य दलहरूसँगसमेत छलफल गरेर सरकारमा जाने नजाने निर्णय गर्ने योजना रास्वपाको छ । प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने स्थिति आए रास्वपा सरकारमा नजाने संकेत गरेको छ । सरकारको आयु हेरेर रास्वपाले निर्णय लिने मनस्थितिमा पुगेको हो ।
प्रवक्ता ढकालले सरकारमा जाने या प्रतिपक्षीमा बस्ने निर्णय शुक्रबार गर्ने बताए । ‘केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारमा जाने या प्रतिपक्षीमा बस्ने निर्णय गर्छौं,’ उनले भने ।
प्रधानमन्त्रीको प्रस्तावका कारण नै रास्वपाले निर्णय शुक्रबारका लागि सारेको हो । रास्वपाको पहिलो सर्त १० पुसमा भएको सहमतिअनुसार गृहसहितको मन्त्रालय पाउनुपर्नेछ । दोस्रोमा नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने माग छ । तेस्रोमा सरकार स्थिर हुनुपर्ने र चौथोमा सरकारमा सहभागी हुँदा हस्तक्षेप हुन नहुने स्वायत्त भएर काम गर्न दिनुपर्ने सर्त रास्वपाको छ ।