नागरिकको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल
काठमाण्डौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको निराशालाई आशामा बदलने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार आज वीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसके पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलेृ यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतान्त्रिक व्यवस्थालाई जगेर्ना गर्न आवश्यक रहेको पनि बताएका छन् । उनले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै नागरिकको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रपति पौडेलले भने ‘लोकतन्त्रको लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ति व्यक्त गर्दै उहाँहरुको सपना साकार पार्ने प्रण गर्छु । अहिले नागरिकमा निराशा जस्तो देखिएको छ । नागरिकको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमीहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतिको बाटो समात्नुपर्छ ।
सुशासनबाट देशको उन्नति हुन्छ । सुशासन देशले खोजेको छ । प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र नागरिकले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनु हुँदैन ।’ राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।