मेलम्ची, झापा लगायत देशका विभिन्न क्षेत्रमा बाढीको जोखिम: सुरक्षित रहन महाशाखाको आग्रह
बाढी पूर्वानुमान महाशाखाले देशका बिभिन्न जोखिमपूर्ण तटिय क्षेत्रमा नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । महाशाखाले आज जल सतह बढेको जानकारी दिंदै मेलम्ची, सिन्धुपाल्चोक, झापा लगायतका तटिय क्षेत्रका बासिन्दालाई सुरक्षाका लागि अनुरोध गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढी मापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा आज १.५ मिटरले बढेको छ । महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जनाइएको हो ।
विहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन चेतावनी दिएको महाशाखाका अनुसार मेलम्चीसंगै सिन्धुपाल्चोक, झापा, भोजपुरमा पनि बाढीको जोखिम ज्यादा छ ।
जसमा झापाको शनिश्चरे, चन्द्रगढी लगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो समयको भारी वर्षाका कारण मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम रहेका छन् ।
त्यस्तै लगातारको बर्षाका कारण सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायतका क्षेत्र बाढीको जोखिममा रहेका छन् भने भोजपुरमा पनि सो क्षेत्र भई बग्ने साना नदीहरुमा बाढीको जोखिम ज्यादा रहेको बताईएको छ ।
महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भाग र पहिरोग्रस्त क्षेत्रमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।