बाँकेको खजुरामा दुई करोड लगानीको पौडी पोखरी सन्चालनमा
बाँकेको खजुरा गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरीको उद्घाटन गरिएको छ । निजि स्तरबाट निर्माण गरिएको वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले पोखरी सन्चालनमा ल्याएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक र उपाध्यक्ष मन्जु मल्लले सयुक्त रुपमा पौडि पोखरीको उद्घाटन गरे । पौडि पोखरीको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष विकले खजुराको पर्यटन प्रवद्र्धनमा पौडि पोखरीको ठुलो भुमिका रहने उल्लेख गरे ।
अध्यक्ष विकले रमणिय पार्क सहित मिठा परिकार पाउने र साथैमा पौडिको मज्जा लिन पाउने जिल्लामै पहिलो ग्रामिण स्तरमा खुलेको अन्तराष्ट्रिय पौडि पोखरी रहेको बताए । यस किसिमको कार्यले खजुरामा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुनेमा विश्वस्थ रहेको उल्लेख गरे । खजुरामा पौडिको खेलाडि उत्पादन गर्न यस पौडि पोखरीको प्रयोग अत्याधिक हुने र यस कार्यमा पालिका सहयोगि भुमिका निभाउने उनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पौडि खेल्नकै लागी नेपालगन्ज लगाएतका क्षेत्रमा जानपर्ने बाध्यता हटेको बताउँदै खजुराको विकासमा पनि यसले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरिन् । स्थानिय स्तरमा पनि स्तरिय पौडि पोखरी निर्माण हुनु गौरबको विषय बनेको उपाध्यक्ष मल्लले बताइन ।
उद्यानका संचालक टेक श्रेष्ठका अनुसार ‘स्वास्थ्य र सुरक्षाकोलागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पोखरी संचालनमा ल्याइएको हो । ‘यो पौडी पोखरी मनोरञ्जन गर्नका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो,’ संचालक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब २ करोड बढि रुपैयाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ भने बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराईको पोखरी निर्माण गरिएको छ ।
उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश प्रशिक्षक चन्दरराम चौधरीले नयाँ व्यक्ति तथा बालबालिकालाई प्रशिक्षण दिनेछन् ।
त्यस्तै पौडी पोखरीलाई आकर्षण गर्नका लागि वरिपरी विभिन्न स्थानका चित्रकला समेत पेन्टिंग गरिएको छ । भने सुरक्षालाई मध्यनगर गर्दै लकरको पनि व्यवस्था गरिएको छ ।
पौडी पोखरीमा विद्यार्थी तथा बालबालिकाका लागि ३ सय र अन्य व्यक्तिका लागि ३ सय ५० रुपैयाँ शुल्क राखिएको श्रेष्ठले बताए । उद्घाटन समारोहमा सन्चालक श्रेष्ठले तिन दिन सम्मका लागि २०० मै सबैले पौडिको मजा लिन पाउने व्यवस्था मिलाइएको बताए । समारोहमा बाँके बाट राष्ट्रिय स्तरको पौडि खेल खेल्ने खेलाडिहरुलाई सम्मान समेत गरिएको थियो । पौडि प्रशिक्षक चन्दराम चौधरी र पेन्टिङ्ग कलाकार दुर्गा भण्डारी लाई समेत सम्मान गरिएको थियो ।