सिंहदरबार, राष्ट्रपति र प्रधानमन्त्री निवासको फोहोर आजपनि उठेन
काठमाडौं : महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।
शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।
बालेनको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।
‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’
यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवासमा पनि हिजोदेखि नै फोहोर उठेको छैन।