चामुण्डा दर्शन गरेर सुरु भएको काठमाडौं क्षेत्र नं. ३ का उमेद्वार चालिसेको घर दैलो कार्यक्रम
मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ३ बाट उमेद्वार रहेका सन्तोष चालिसेको घर दैलो कार्यक्रम प्रभावकारी देखिएको छ । कांग्रेसका तर्फबाट क्षेत्र नं. ३ का उमेद्वार रहेका चालिसेको घर दैलो कार्यक्रममा बृहत समर्थन सहितको जन लह देखिएको छ ।
नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नं ३ को घरदैलो कार्यक्रम शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ चामुण्ड मन्दिरबाट प्रारम्भ गरिएको थियो । उमेद्वार चालिसेले मन्दिरको दर्शन गरेर आफ्नो घरदैलो कार्यक्रमको सुरु गरेका थिए ।
क्षेत्र नं ३ का प्रदेश सभा १ का सदस्य उमेद्वार कांग्रेसका छिरिङ दोर्जे लामा र प्रदेश २ का विमल ठकुरी सहितको शनिबार निस्किएको घर दैलो टिमले सबै बर्ग र क्षेत्रका जनतालाई समेट्ने गरि आफ्नो घरदैलो कार्यक्रमलाई अघि बढाउँदै आएको छ ।
ठुलो संख्यामा देखिएका चालिसेका समर्थकले नेपाली कांग्रेस र उमेद्वार चालिसेको प्रशंसामा नारा सहित र्यालीमा सहभागी भएका थिए ।
गोकर्णश्वर नगरपालिकाका निवर्तमान मेयर र नेपाली कांग्रेसका क्षेत्रिय सभापतिको जिम्मेबारी कुशलतापूर्वक निर्वाह गरेर प्रतिनिधि सभा सदस्य पदको दावेदारी यात्रामा रहेका चालिसे नेपाली कांग्रेस र सो क्षेत्रका प्रभावशाली राजनितिकर्मीका रुपमा चिनिन्छन् ।
सानै उमेरबाट राजनितिमा समर्पित चालिसे जोरपाटी–९ का पूर्व वडा अध्यक्ष पनि हुन् । क्षेत्र नं. ३ का समस्यालाई संसदमा पुर्याउन र समाधान र विकासका मार्गहरु प्रसस्त पार्न यस पटक चुनावी मैदानमा देखिंदै गरेका चालिसेले सुकुम्बासी समस्या निराकरण र सुकुम्बासीलाई लालपुर्जा प्रदान, सुन्दरीजलबाट माथिका बस्तीमा रहेका जनताको आवत–जावतमा रहेको वाध्यतात्मक खर्च न्युनिकरण, महिलाका हकमा स्वतन्त्रता, शान्ति र सुरक्षित वातावरण सृजना, ठुलो संख्यामा रहेका युवाहरुको वेरोजगार समस्या समाधान, शिक्षा, स्वास्थ्य लगायतका महत्वपूर्ण पक्षहरुलाई आफ्ना एजेण्डामा समेटेका छन् ।