रोकिएको अधिबेशनको मिति सबैको सल्लाहमा छिट्टै तय गर्नु पर्छ – सुरज भण्डारी ( सचिब , नेजा )
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का सचिव सुरज भण्डारीसग युएस खबरले नेजाको स्थगित अधिवेशन कहिले हुन्छ ? नेजाले के गर्दछ र के गरिरहेको छ ? यी यस्ता नेजासग सम्बन्धित विषयहरुमा केन्द्रीत रहेर कुराकानी गरेको छ । त्यही कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं । सम्पादक
नेजाको अधिवेशन स्थगित भएको पनि धेरै नै समय भयो ? अधिवेशन गर्ने बारे केही कुरा भएको छ की ?
केही महिना यता देखि कोरोना भाइरसको संक्रमणले सिर्जित स्वास्थ्य संकटवाट विश्वनै जुधिरहेको अवस्था छ । त्यसवाट विश्वनै एक प्रकारले भन्दा थलिएको स्थिति हो । यसको असरवाट अमेरिकाबासी पनि प्रभावित भइरहेको अवस्था हो । अप्रत्याशित यस स्वास्थ्य संकटले धेरै क्षेत्र प्रभावित बनेको अवस्था हो । कोरोनाको कहर नभएको भए अहिले नया कार्यसमिति बनिसकेर पनि त्यो कार्यसमितिले केही समय गुजारिसकेको हुन्थ्यो । तर अप्रत्याशित कोरोना कहरले गर्दा नेजा अधिवेशन निर्धारित मितिमा हुन सकेन । जसका कारण अहिले पनि वासिगंटन राज्यको शियाटलमा भएको छैठौं अधिवेशनवाट बनेको नेजाको वर्तमान कार्यसमिति रहेको अवस्था छ । कोरोना कहर अघि वर्तमान कार्यसमितिले रचनात्मक किसिमका धेरै कार्यहरु गरेको सबैमा जानकारी रहेकै छ । संघको नियमित साधारण सभा (१३ औं साधारण सभा) टेक्ससको डलासमा सम्पन्न गरिसक्दा सम्म संघले धेरैं कार्यहरु गरिसकेको थियो । त्यसपछि पनि चरणवद्ध रुफमा आयोजना गरिने कार्यक्रमहरुको तालिका रहेको थियो ।
कोरोनाले विश्व आत्रान्त बनेपछि भने आम मानिसको व्यक्तिगत तहमै पनि त्यसको प्रभाव पर्न गयो । यसले आम मानिसको दैनिकीमा नै असर गर्न पुग्यो । यसवाट सबै पक्षमा असर पर्न गयो । र विश्वको ध्याननैं कोरोनाको कहरवाट कसरी जोगिने भन्नेमै केन्द्रीत रह्यो । यसलाई मध्यनजर गर्दै नेजाको वर्तमान कार्यसमितिले पनि कोरोनाको कहरवाट अमेरिकामा रहेको नेपाली समुदायलाई जोगाउन संचार क्षेत्रको तर्फवाट के गर्न सकिन्छ भन्ने तर्फ नै जोड दियो । यस विचमा संघवाट प्रत्यक्ष रुपमा होस् वा विभिन्न संचारमाध्यमहरुमार्फत होस् समुदायलाई सचेतनामुलक जानकारी दिने कार्यमा संघले कार्य गर्यो । प्रत्यक्ष ढंगवाट समुदायलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन पनि संघले पहलकदमी गर्यो भने नेपालमा रहनुभएका पत्रकारहरुलाई पनि आवश्यक सहयोग गर्न नेपाल पत्रकार महासंघसग सहकार्य गर्यो । यस बीचमा संघले फहलकदमी लिदैं सवैको साथ सहयोगमा आर्थिक संकलन गरी केही सहयोग समेत गर्यो । संघले कोरोनाको कहर सुरु हुनु अघि जसरी सक्रियता देखाएको थियो त्यत्तिकै सत्रियता कोरोनाको कहर पछि नदेखिएको हुन सक्दछ । तर पनि परिस्थिति अनुसार कार्यक्रमहरुलाई परिमार्जन गरी आवश्यकताका कार्यक्रमहरु भने भइनै रहेका छन् । धेरै कार्यक्रमहरु समय परिस्थिति अनुरुप अनलाइन माध्यमवाट पनि भइरहेका छन् । अव विस्तारै सहज स्थिति बन्दै गएको छ । अव संघको अधिवेशन तर्फ नै जोड दिई कार्यक्रमहरु अघि बढ्नेछ भन्ने मलाई लाग्दछ ।
उसो भए कोरोनाले मात्र नै अधिवेशन रोकिएको थियो भने अव त अवस्था समान्य बन्दै गएको देखिन्छ, अव त अधिवेशनको चर्चा सुरु गर्दा हुदैंन र ?
कोरोनाको कहरले लामो समयसम्म विश्वनै थलिएपछि अहिले समयक्रमसगैं अहिले विभिन्न कोरोना भाइरस विरुद्धको खोपको विकास अनि प्रयोगसगै अवस्था समान्य उन्मुख बनिरहेको छ । तर अझै पनि अवस्था समान्य भैसकेको छैन । स्वास्थ्य सावधानी अपनाउनु अहिले पनि जरुरी छ । यी सबै विषय म किन भनिरहेको छु भने कोरोनाको कहरले गर्दा नेपाल अमेरिका पत्रकार संघको सातौं अधिवेशन तथा १४ औं साधारण सभा मे २ र ३, २०२० मा न्यूयोर्कमा हुने भनी मिति तय भैसकेको र तयारी सबै अन्तिम चरणमा पुग्दा स्थगित गर्नुपर्ने अवस्था आएको थियो । चाहेर पनि भौतिक रुपमा जुट्न सक्ने अवस्था नहुदा बाध्यात्मक कारणले गर्दा अधिवेशन स्थगित गरिएको थियो । निर्वाचन समितिका संयोजक एवं सदस्यहरु, संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष ज्यूहरु, अग्रज ज्यूहरु एवं अन्य पत्रकार साथीहरुसगको सर सल्लाहमा अधिवेशन स्थगित गरिएको थियो । तर त्यो स्थगित गरिएको अधिवेशन कहिले तय गर्ने भन्ने अवस्था कोरोना कहरको प्रभावसग जोडिएकाले तय गरिहाल्ने अवस्था नहुदा अर्को मिति तय नगरी तत्काल स्थगन गर्ने सुझाव आएकाले वर्तमान कार्यसमिति त्यही अनुरुप अघि बढेको थियो ।
तर यसको अर्थ जहिले गरेपनि हुन्छ भन्ने चाहि होइन । अव कोरोनाको कहरका बीच पनि सावधानी अपनाएर अघि बढ्नुपर्ने अवस्था छ । अनलाइन माध्यमवाट पनि कार्यहरु भैरहेका छन् । विभिन्न संघ संस्थाले पनि अनलाइनमाध्यमवाट पनि अधिवेशन लगायत आवश्यक अन्य कार्यक्रमहरु गरिरहेको अवस्था छ । यसबारे पनि सोच्न सकिन्छ । अर्कोतर्फ कोरोना विरुद्धको खोपहरु पनि प्रयोगमा आइरहेको छ । अवको केही महिनाभित्र सबैमा यो खोप सेवा उपलब्ध हुन्छ भनेर आशा गर्न सकिन्छ । तत्पश्चात भौतिक रुपमै पनि हामीहरु जम्मा भएर पारिवारिक माहौलमा अधिवेशन गर्न सक्ने अवस्था बन्नेछ । त्यसका लागि पनि अव छलफल हुन्छ होला । सबै अग्रजहरु, पत्रकार साथीहरु, निर्वाचन समितिसगको छलफल पछि कार्यसमितिले यस बारेमा धारणा बनाउनेछ भन्ने मलाई लाग्दछ । सबैसगको सर सल्लाहमै अव संस्थाको अधिवेशन लक्षित गतिविधि अगाडि बढ्छ भन्ने मलाई लाग्दछ । यसको स्थापना देखिको उद्देश्यलाई हेरेर हामीले यो संस्थालाई हामी उत्तर अमेरिकामा रहेका पत्रकारहरुको सुख दुःख विसाउने चौतारीको रुपमा अघि बढाउनुपर्दछ । सबै मिलेर संस्थालाई त्यही ढंगवाछ अघि बढाउनुपर्दछ भन्ने लाग्दछ ।
नेजाको सदस्य को बन्न पाउने हो ? समय समयमा सदस्यतालाई लिएर विवाद आउने गरेको छ नी होइन ?
नेपाल अमेरिका पत्रकार संघको विधानले नै संस्थाको सदस्य को बन्न पाउने भन्ने कुरा स्पष्ट रुपमा निदृष्ट गरिसकेको छ । विधानले नेजाको सदस्यताको प्रावधान देखि धेरै विषयको व्याख्या गरिसकेको छ । त्यसैले यसमा मैले धेरै भनिरहनु पर्दैन । शब्द शब्दको अर्थ विधानले लगाउला तर समान्यतयाः के बुझ्न सकिन्छ भने उत्तर अमेरिका(खासगरी क्यानडा र अमेरिका)मा बस्दै आउनुभएका पत्रकारहरु जो कहि न कहि नेपाल(गैर आवासीय नेपाली) सग जोडिनुभएको छ उहाहरु नेजासग नजिक हुन सक्नुहुन्छ । नेजा परिवारमा जोडिन सक्नुहुन्छ । यसलाई हामीले यसरी पनि समान्यीकरण गर्न सक्छौं । तर सदस्य बन्न के के हुनुपर्दछ भन्ने कुराको व्याख्या विधानले गरेको छ त्यही अनुरुपनै सदस्य बन्ने प्रक्रिया अघि बढ्दछ ।
संघ स्थापनाको उद्देश्यलाई हामीले अग्रजहरुको भनाईलाई आधार मान्दैं उहाहरुले स्थापना गर्दाको मर्मलाई आत्मसाथ गर्ने हो भने यो संस्था नेपालमा रहदा कहि न कहि नेपालको पत्रकारितामा जोडिनुभएका अग्रजहरुले सुख दुःख विसाउने चौतारीको रुपमा खडा गर्नुभएको थियो । साथी भाईहरु भलाकुसारी गर्ने एउटा सुन्दर बगैचाको रुपमा यसलाई सिगार्दै अग्रजहरुले यहासम्म ल्याउनुभएको हो । समयसगैं संघमा सदस्य संख्या बढ्यो होला, कार्यक्षेत्र केही फराकिलो बन्यो होला, कहिले काही सदस्य बढेपछि तिता मिठा विषयहरु पनि भए होलान् तर पनि यो संस्था सदैव हामी सबै रमाउने सुन्दर बगैचा हो र रहीरहनुपर्दछ । अझैपनि यो संस्थामा सबै आइसक्नुभएको छैन उहाहरुलाई पनि सबै मिलेर ल्याउनुपर्नेछ । हामी भित्र भएका साथी भाईहरु समेत एक आपसमा मिलेर यो संस्थालाई सबै अट्ने र सबै रम्न सक्ने सुन्दर फुलबारी बनाउनुपर्नेछ त्यसका लागि अग्रजहरुको जिम्मेवार पूर्ण भूमिकाको आवश्यकता म देख्दछु त्यसका लागि म अग्रज ज्यूहरुमा अनुरोध पनि गर्न चाहन्छु ।
उसो भए अधिवेशनको तयारी अव सुरु हुने भयो होइन ? नेतृत्वलाई लिएर चर्चा पनि सुरु भएको हो त ? तपाईको तयारी चाहि कस्तो छ ?
पक्कैपनि, मैले अघि पनि भने की अव कार्यसमितिले संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष ज्यूहरु, संस्थापकहरु, सल्लाहकार ज्यूहरु, निर्वाचन समितिका संयोजक एवं समितिका साथीहरु एवं अन्य पत्रकार ज्यूहरुसगको औपचारिक वा अनौपचारिक रुपवाट सर सल्लाह गरेर अधिवेशन कहिले, कहा र कसरी गर्ने भन्ने तर्फ छलफल गर्नेछ भन्ने मलाई लाग्दछ । कार्य समितिको वैठक बसेपछि यस बारे केही बताउन सक्ने अवस्था रहला अहिले सम्म निर्क्यौल नै गर्ने गरी यो समयमा हुन्छ भनेर भन्न सक्ने अवस्था नभएपनि के भन्न सकिन्छ भने अव छिट्टै नैं अधिवेशनको मिति तोकिनेछ । मिति तोकिएपछि पक्कै पनि कार्यसमितिको ध्यान अधिवेशन कसरी सफलता पूर्वक सम्पन्न गर्ने भन्नेमा नै केन्द्रीत हुने नै छ । अधिवेशनसग जोडिएर तपाईले मेरो व्यक्तिगत कुरा गर्नुभएको हो भने , म अहिले संघको सचिव भएको हिसावले संघको सफलता पूर्वक अधिवेशन सम्पन्न गराउन मेरो भागमा पर्ने जिम्मेवारी मैले निभाउने नै छु र त्यो मेरो दायित्व पनि हो । यसबाहेक पनि संघमा नया कार्यसमिति आइ नसक्दा सम्म संघको रचनात्मक गतिविधि अगाडि बढाउन मैले मेरो तर्फवाट सहयोगी भूमिका निभाउने नै छु । र कार्यसमितिको पदमा भएपनि नभएपनि मेरो दायित्व भित्र पर्न आउने भूमिका मैले निभाउदैं आएको छु र आगामी दिनमा पनि निभाउने नै छु ।
अहिले अधिवेशनकै मिति तय भैनसकेको अवस्थामा औपचारिक वा अनौपचारिक रुपमा नेतृत्व वा अन्य पदहरुका बारेमा चर्चा भैसकेको छ जस्तो मलाई लाग्दैन । व्यक्तिगत तहमा नेतृत्वमा जाने चाहना साथी भाईहरुले राख्नुलाई मैले स्वभाविक रुपमा लिएको छु । चलायमान संस्था भएकाले नेतृत्वलाई लिएर हुने चर्चा परिचर्चाले संस्थालाई पनि फाइदा नै पुर्याउछ भन्ने मलाई लाग्दछ । संस्थालाई गतिशिल राख्नका लागि सक्रियता पूर्वक काम गर्ने नेतृत्व र कार्यसमिति हुनु जरुरी छ, त्यसका लागि पक्कैपनि साथी भाईहरुले संस्थामा आउने वा नेतृत्वमा जाने चाहना राख्ने कुराले बल पुर्याउछ भन्ने मलाई लाग्दछ । तर पनि अहिले नै त्यसबारे छलफल नै सुरु भएको छ जस्तो चाहि मलाई लाग्दैन । अधिवेशनको मिति तय भएपछि यसले व्यापकता पाउला कि भन्ने लाग्दछ । जे होस् सबै समेटिने सबैले अपनत्वको अनुभूति गर्न सक्ने गरी संस्था अघि बढ्नु पर्दछ भन्ने हो । त्यही अनुरुपको भूमिका सबैवाट हुनु आवश्यक छ ।
रह्यो कुरा मेरो व्यक्तिगत तयारीको सन्दर्भमा यसबारे अहिले नै केही सोच बनाइसकेको छैन । अहिले संघको सचिव भएको नाताले मेरो अहिलेको भूमिका भनेको वर्तमान कार्यसमितिको तर्फवाट अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनका लागि के गर्न सकिन्छ त्यही गर्ने हो । अधिवेशन हुनु अघि सम्म संघलाई गतिशिल संस्था बनाइराख्नका लागि कार्यसमितिलाई रचनात्मक गतिविधितर्फ अग्रसर गराउन आफ्नो जिम्मेवारी अनुरुपको भूमिका गर्ने हो त्यसमा न्याय गर्ने मेरो कोशिस रहदैं आएको छ र आगामी दिनमा पनि रहनेछ । मैले अहिले मेरो भूमिका निभाउने हो बाकी कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा अग्रजहरुको सर सल्लाह, साथी भाईहरुको साथ सहयोग अनि संस्थाको निम्ति के गर्दा उत्तम हुन्छ त्यही गर्ने हो ।
अन्त्यमा केही ?
नेपाल अमेरिका पत्रकार संघ(नेजा)सग जोडिएर केही कुराहरु राख्ने अवसर दिनुभएकोमा तपाई (किशन रेग्मी) सहीत लोकप्रिय संचार माध्यम युएस खबर परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । नेजा उत्तर अमेरिकामा रहनुभएका तपाई हामी सबै पत्रकारहरुको साझा संस्था भएकाले यसको गतिशिलता अनि रचनात्मक विकासमा हामी सबैको उत्तिकै भूमिका रहेको हुन्छ । सबैको सहभागिता र सहयोगका साथ एक आपसमा सह अस्तित्वको आधारमा समन्वय, सहकार्य गरी सबैले अपनत्वको अनुभूति गर्ने गरी संघलाई अगाडि बढाऊन सकौं यसका लागि हामी पत्रकारहरु विचको सम्बन्ध अझ कसीलो हुन सकोस् सबैमा हार्दिक अपेक्षा समेत राख्न रहन्छु ।