‘ए मेरो हजुर-४’ अमेरिकामा प्रदर्शन हुने: प्रथम प्रदर्शन भर्जिनियाबाट सुरु गरिदैं
चलचित्र ए मेरो हजुर ४ को प्रदर्शन अमेरिकामा पनि हुने भएको छ । नेपालमा अत्याधिक सफलता प्राप्त गरेको ए मेरो हजुर ४ ले जुन २६ आईतबारका दिन डिसी क्षेत्रको भर्जिनियाबाट अमेरिका प्रदर्शनको सुरुवात गर्ने भएको हो ।
नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)संगको समन्वयमा भर्जिनिया प्रदर्शनको तयारीमा रहेको ए मेरो हजुर ४ भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र मन्दिरमा जुन २६ बाट प्रदर्शनमा आउने छ ।
चलचित्रका हेर्नका लागि जम्मा २० डलर टिकट शुल्क राखिएको यस प्रदर्शनमा डिसी क्षेत्रबाट यस कारण पनि सुरु गरिएको हो कि चलचित्रका निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापा डिसी क्षेत्रमा बसोबास गर्दछन् । जसकारण सो क्षेत्रका नेपालीहरुको माग र बसोबास क्षेत्र भएकाले प्रदर्शन सहजताका दृष्टीले अमेरिकाको प्रथम प्रदर्शन भर्जिनियाबाट सुरु गर्न लागिएको चलचित्र निर्माण टिमले जानकारी दिएको छ । शो मा नायिका झरना र सुहाना पनि दर्शकसंग नै बसेर चलचित्र हेर्ने कार्यक्रम रहेको छ ।
ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलामा अनमोल केसी र नायिका झरना पुत्री सुहाना थापा केन्द्रिय भूमिकामा रहेका छन् भने चलचित्रमा सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतको अभिनय रहेको छ ।