माओवादी केन्द्रको चुनाव प्रचार पोस्टरमा कुलमान घिसिङको तस्विर
नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा कुलमान घिसिङको तस्विर राखेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर राखिएको हो ।
चुनावी प्रचारका लागि सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्विर राखिएको छ । माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएपछि उनिहरु चर्चामा रहेका थिए ।
घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ भने कार्यकर्ताले भने सियर गरिरहेका छन् ।
अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको पोस्टरमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ ।
पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।