राजबाबु श्रेष्ठ ‘सागर’

तिमीले
बैंससङ्गसङ्गै आफूलाई पनि
पारर्दर्शी भृकुटी मेलामाझैं यसरी सजायौ
जसरी ग्राहक किन्ने भन्दा
सजिएका सामग्रीलाई ओल्टाई – पल्टाईगरी
सस्तो मोललगाईरहेको हुन्छ

हो तिमी त ठीक त्यस्तै गरी
बिछट्टै सस्तीरहेकी थियौ ।
तर मैले भने
खै किन हो कुन्नि
तिम्रो त्यो पार्दर्शी आवरणबाट
देखिएका ती तिम्रा बैंसका अहमका पर्खालहरू
मक्किईरहेको देखें यसरी
जसरी कलिलो पवनको एकै झट्कामा
भग्नावशेषमा रूपान्तरित हुँदैथियौ ।

हो मैले तिमीमा
कुनै बहुमूल्य त्यो चीज देखिन
जसलाई मैले ऋणगरी मूल्य हाल्नै पर्ने
तर तिमी त आफूलाई
संसारकै अमूल्यवस्तु सोंचिरहेकी थियौ ।

के थाहा तिमीलाई ?
भित्रभित्रै तिमी रङ्गीन प्रदुषणमा
बिछट्टै मैलिईरहेकी थियौ यसरी
जसरी सेतो वस्त्रमा गल्लीका पानका दागहरू
सर्प लुके झैं लुकेर बस्छ ।

हो तिमी त
बजारका त्यो वस्तु पो रहेछ्यौ
जसलाई नयाँमा किन्दा पनि
मोलमलाई हुन्छ अनि पुरानो भएर
बेच्दा पनि मोलमलाई हुन्छ ।

हेर त बजारमा तिमी
नियाँलेर चारैतिर सुन र हीरा मोती
कहीँ राखिएका छन्
फुट्पाथमा बेच्न ?

 

 

Comments

comments