छुराको धार टेकेर गरिने यात्रालाई
इन्कारीको लात हानेर
बन्धुहरूले त फूल बिछ्याएको बाटो रोजेछ्न्
अनि साम्यवादको मञ्जिल टेक्ने आशाहरू
एकातिर थन्क्याएर
बुख्याँचालाई मान्छे बनाउने कसरतमा लागिपरेछ्न्
अनि, पितापूर्खाको आस्था स्खलित भयो
मेरो बगैचामा आज बाघले घाँस खायो ।
– पुण्य कार्की ( बाघले घाँस खायो )

बाघले घाँस खायो , आस्थाको अग्निपथ, दु:ख ,मखमली, एउटा हर्कुलसको खोजी , बलिदानका गाथाहरू, मध्यरातमा, असल बन्छु , जीवनयात्रा जस्ता झन्डै डेढ दर्जन कृतिका सर्जक पुण्य कार्कीले शब्द रहर साहित्य अभियानद्वारा काठमाडौंको , नेपालटारस्थित एक कलेजमा आयोजित मासिक सिर्जना वाचन कार्यक्रममा आफ्ना एक दर्जन सिर्जनामा सशक्त ढङ्गले आफूलाई पोखे ।

श्रीमती कमरेड , बाघले घाँस खायो, सेतो घर र पुल्ठो, नीरो अवतार , ढोडका लौराहरू , कर्मण्यवाधिकारस्ते , आस्थाको अग्निपथ लगायत एक दर्जन कविता वाचन गरी मन्त्रमुग्ध पारे , कार्यक्रममा उपस्थित साहित्यानुरागीहरूलाई । रचना-गर्भका बारेमा समेत सङ्क्षिप्त प्रकाश पारेका उनले मोफसलका सर्जकका पीडाबारे आफ्नो धारणा व्यक्त गर्दै तीन चरणमा आफ्ना सिर्जना सुनाएका थिए ।

कार्यक्रममा धरणिधर गुरागाईं , द्वारिका कुइँकेल, तारा के.सी, जीत अधिकारी , भैरवी भूगोल , भवानीमैयाँ पन्त , सुविन न्यौपाने , माधव घिमिरे `अटल´ , दामोदर शर्मा , शिवराम खड्कालगायत डेढ दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण अभियानका अभियन्ता उत्तम विचारले गरेका थिए भने अतिथिलाई मायाको चिनो संरक्षक श्रीहरि फुयाँलले अर्पण गरे ।

 

Comments

comments