नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नचाहँदा नचाहँदै फेरि एकपटक द्वन्द्व आउन सक्ने बताएका छन् पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले लेखेको ‘न्यायिक समिति : कार्यविधि र प्रक्रिया’ पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

शान्ति प्रक्रियाको मर्म र भावना विपरित काम भइरहेको प्रति प्रश्न गर्दै प्रचण्डले यस्तो आक्रोश व्यक्त हुन्। ‘शान्ति सम्झौताको मर्म र भावना विपरित पुलिसले मुद्दा अगाडि बढाउने काम सुरु गरेको छ’, प्रचण्डले भने, ‘यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौँ र संविधानसभाबाट संविधान बनाउँदा जे जति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्यौँ त्यो कुरालाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एक पटक हामीले नचाहँदा नचाहँदै द्वन्द्व आउन सक्छ।’

प्रचण्डले त्यो द्वन्द्वलाई नेपालले धान्न नसक्ने बताएका छन्। ‘कल्पना गर्नुहोस्, त्यो भयानक हुनेछ’, उनले प्रश्न गरे, ‘अबको नेपालले त्यसलाई धान्न सक्छ त ?’

उनले पुरानै शैलीमा भ्रष्टाचार बढ्दै गए मधेस र पहाडमा नयाँ ढंगको विकराल स्थिति सिर्जना हुने दाबी गरे। आफूहरुले पुरानो संरचना, कार्यशैली र भ्रष्टाचारको रोगलाई निधान गर्ने परिकल्पना गरे पनि त्यो नभएको उनको भनाइ छ।

‘हामीले पुरानो संस्कृति पुरानो संरचना, पुरानो कार्यशैली र भ्रष्टाचारको पुरानै रोगलाई निधान गर्ने परिकल्पना गरेका थियौं’, प्रचण्डले भने, ‘तर, फेरि उस्तै जतासुकै भयो भने हामीले नगरे पनि हामी जहाँ छौँ त्यही उभिदा उभिदै देशमा, मधेसमा एउटा ढंगले र पहाडमा अर्को ढंगको विकराल स्थिति सिर्जना हुनसक्छ।’

अब सिर्जना हुने विकराल स्थितिलाई फेरि १२ बुँदे सम्झौता र शान्ति प्रक्रियाजस्तै गरी सहज निकास दिन नसकिने उनको भनाइ छ।

‘त्यो भयो भने हिजोजस्तो १२ बुँदे र शान्ति प्रक्रिया जस्तो नहुन पनि सक्छ’, उनले भने, ‘देशलाई सहजै अगाडि बढाउने अवस्था नरहन पनि सक्छ।’

संविधानलाई आत्मसाथ गरेर संविधानको मर्मअनुसार ऐन बनाउने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई गम्भीरका साथ लागू गर्नुपर्ने उनको भनाइ छ।

उनले हिजो लडाईं, आन्दोलनमा सहभागी हुने र शान्ति प्रक्रियामा खुशीयाली मनाउनेले निधार खुम्च्याएर सोच्नुपर्ने बेला आएकोप्रति आपत्ति जनाए।

सँगै उनले माओवादीलाई सिध्याइहालियो भन्ने कसैले सोचेको भए त्यो दुर्भाग्यपूर्ण हुने बताए। ‘विस्तारैविस्तारै माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ’, प्रचण्डले भने’, ‘अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाइँ हुने खतरा आउँछ।’

स्रोत:  अन्नपूर्ण पोष्ट

 

Comments

comments