अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग बिचको दोस्रो शिखरवार्ता यसै महिनाको अन्तिम साता हुने भएको छ । राष्ट्रपति ट्रम्पले यही फेब्रुअरी २७ र २८ तारिखमा भियतनाममा किमसँग भेटवार्ता हुने घोषणा गरेका हुन् ।

केहि साता अघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गरेका थि र अमेरिकी विदेश मन्त्रालयले शिखर बैठक भियतनाममा हुनसक्ने बताएको जनाएको थियो ।
उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुबै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो । यसअघि ऐतिहासिक पहिलो शिखर बैठक गत वर्ष जुनमा सिंगापुरमा भएको थियो ।

प्योङयाङ र वासिङटनबीच पहिलो शिखर बैठकमा भएका सहमतिको कार्यान्वयनलाई लिएर दुबै मुलुकबीच घनीभूत छलफलमा छन् । उक्त सहमतिमा नेता कीमले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्ण आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा नभएकोमा उत्तर कोरियाली नेता कीमले निरन्तर असन्तुष्टी व्यक्त गरिरहेका छन् जबकी अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमको पूर्ण पालना नहुँदासम्म प्रतिबन्धहरु फुकुवा नहुने अडान राख्दै आएको छ ।

 

Comments

comments